काठमाडौँ : अमेरिकाका मिसौरी, केन्टुकी र भर्जिनिया राज्यमा शुक्रबार रातिदेखि आएको शक्तिशाली आँधी र टर्नाडोका कारण कम्तीमा २७ जनाको मृत्यु भएको छ।
यो आँधीले ठूलो जनधनको क्षति पुर्याएको छ, जसमा लाखौँ घर, भवन र संरचनाहरू प्रभावित भएका छन्।
न्यूयोर्क टाइम्सका अनुसार, मिसौरी र केन्टुकीमा मात्रै टर्नाडोका कारण २५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्।
मिसौरीको सेन्ट लुइसमा पाँच जनाको मृत्यु भएको छ भने स्कट काउन्टीमा दुई जनाले ज्यान गुमाएका छन्। केन्टुकीको लरेल काउन्टीमा १७ जनाको मृत्यु भएको छ, जसमा एकजना अग्नि नियन्त्रक पनि छन्। भर्जिनियामा दुई जनाको मृत्यु भएको छ। मृतकको संख्या अझै बढ्न सक्ने चेतावनी अधिकारीहरूले दिएका छन्।
स्थानीय समय अनुसार सेन्ट लुइसमा शुक्रबार दिउँसो ३ बजे आसपास टर्नाडोले २० वर्ग ब्लक क्षेत्रमा क्षति पुर्याएको छ।
सेन्ट लुइसकी मेयर कारा स्पेन्सरले यो आँधीलाई शहरको इतिहासमा एकदमै विनाशकारी मध्येको एक भएको बताएकी छन्। उनले भनेकी छन्, ‘यो विनाश अत्यन्त हृदयविदारक छ।’ करिब पाँच हजार भवनमा क्षति पुगेको र ३० भन्दा बढी मानिस घाइते भएको उनले जानकारी दिएकी छन्।
ड्रोन भिडियोहरूमा घरहरू भग्नावशेषमा परिणत भएको र सडकहरूमा गाडीहरू उल्टिएको देखिन्छ। आँधीका कारण मिसौरी र केन्टुकीमा एक लाख ८३ हजार भन्दा बढी घरहरूमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ।
अमेरिकी राष्ट्रिय मौसम विज्ञान विभागले मिसौरी, केन्टुकी र अन्य मध्यपश्चिमी राज्यहरूमा शनिबार र आइतबार पनि आँधी र बाढीको जोखिम कायम रहेको चेतावनी जारी गरेको छ। स्थानीय प्रशासनले बासिन्दाहरूलाई सुरक्षित स्थानमा बस्न र सडकमा ननिस्कन आग्रह गरेको छ। एजेन्सी
प्रतिक्रिया