इटहरी : इटहरी इलाका प्रहरी कार्यालयको नेतृत्व डिएसपी लक्ष्मी भण्डारीले सम्हालेपछि चोरीका घटनामा उल्लेखनीय कमी आएको छ।
आर्थिक वर्ष २०८१/८२ को साउनदेखि जेठसम्म इटहरीमा २७ वटा मात्रै चोरीसम्बन्धी मुद्दा दर्ता भएका छन्, जुन विगतका वर्षहरूसँग तुलना गर्दा निकै कमि हो।
पछिल्लो दुई वर्षका तथ्यांक अनुसार २०७९/८० मा ५२ र २०८०/८१ मा ५८ वटा चोरीका मुद्दा दर्ता भएका थिए।
डिएसपी भण्डारीका अनुसार चोरी नियन्त्रणमा प्रहरीको सक्रियता र नियमित गस्तीले ठूलो भूमिका खेलेको छ।
“हामीले हाम्रो तर्फबाट सक्रिय भएर काम गरेका छौँ, प्रहरीको सक्रियताका कारण नै चोरीका घटनामा कमी आएको हो,” भण्डारीले बताए। उनले सडक बत्ती र सिसीक्यामराको प्रयोगले पनि चोरी रोकथाममा सहयोग पुर्याएको जनाए।
प्रहरी तथ्यांकअनुसार इटहरीमा सबैभन्दा धेरै मोटरसाइकल चोरी हुने गरेको छ। त्यसपछिका घटनामा घरमा हुने सुनचाँदी, मोबाइल लगायतका सामानको चोरी पर्दछ।
२०७८ सालको चर्चित ३३ केजी सुन प्रकरणमा अनुसन्धान अधिकृत रहेका डिएसपी भण्डारी २०८१ सालको असोज १४ गते इटहरीको नेतृत्वमा आएका थिए।
उनले दसैं-तिहार लक्षित विशेष सुरक्षा योजना बनाई चोरी नियन्त्रणमा प्राथमिकता दिएका थिए।
यसअघि मकवानपुर, मोरङ, पथरी र कोशी प्रदेश प्रहरीमा कार्यरत रहेर अनुभव बटुलेका झापा निवासी भण्डारीको सक्रिय नेतृत्वले इटहरीको शान्ति सुरक्षामा सकारात्मक प्रभाव पारेको स्थानीयवासी बताउँछन्।
प्रतिक्रिया