लागुऔषध खुवाएर ट्याक्सी चालकले गरे ५० महिलालाई बलात्कार

विहीबार, ०८ जेठ २०८२
सांकेतिक फाईल

जापानी प्रहरीले बिहीबार एक महिला यात्रुलाई लागुऔषध खुवाएर बलात्कार गरेको आशङ्कामा एक पूर्व ट्याक्सी चालकलाई पक्राउ गरेको बताएका छन् ।  मिडिया रिपोर्टहरूले दर्जनौँ थप पीडित हुन सक्ने बताएका छन् ।

प्रहरीले उनको ट्याक्सी वा उनको घरमा करिब ५० जना महिलालाई यौन दुव्र्यवहार गरेको करिब तीन हजार भिडियो र तस्बिर फेला पारेको योमियुरी सिम्बुन दैनिक र जिजी प्रेसले रिपोर्ट गरेका छन् ।

“गत वर्ष ती व्यक्तिले २० वर्षकी एउटी महिलालाई निद्राको गोली खान लगाए, जसले गर्दा उनी बेहोस भइन्, उनलाई आफ्नो घरमा लिएर गए र अभद्र कार्य गरे, जसलाई उनले फिल्म बनाएका थिए”, टोकियो प्रहरीका प्रवक्ताले भने ।

प्रहरीले बुधबार ५४ वर्षीय ती व्यक्तिलाई ‘सहमतिविहीन यौन सम्पर्क र यौन अङ्गको छायाङ्कनको सजाय सम्बन्धी कानूनको उल्लङ्घन’ को आशङु्कामा पक्राउ गरेको थप विवरण नदिई प्रवक्ताले बताए ।

मिडिया रिपोर्टहरूका अनुसार उनको कपालमा निद्राको चक्कीका निशानहरू फेला परेका थिए । रिपोर्टहरूका अनुसार ती व्यक्तिको फोन र अन्य उपकरणहरूमा बरामद गरिएका फुटेजहरू सन् २००८ देखिका थिए ।

ती व्यक्तिलाई गत अक्टोबरमा अर्की महिलालाई लागुऔषध खुवाएर उनको ४० हजार येन (दुई सय ८० डलर) लुटेको आशङ्कामा पक्राउ गरिएको पनि मिडियाले बताएका छन् । कथित अभद्र आक्रमणको आरोपमा डिसेम्बरमा फेरि हिरासतमा लिनुअघि उनलाई पछि रिहा गरिएको थियो ।
 

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार