प्रधानमन्त्री ओलीको चेतावनी : प्रतिगमनको सपना नदेख्नुस्, एमाले अग्रपङ्क्तिमा छ

शुक्रबार, ०९ जेठ २०८२

पोखरा : प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले देशमा प्रतिगमन रोक्ने अभियानमा एमाले अग्रपङ्क्तिमा रहेको बताएका छन्।

राष्ट्रिय युवा सङ्घ नेपालको १०औँ महाधिवेशन उद्घाटन गर्दै उनले राजतन्त्र फर्किने हल्ला र अफवाह फिजाउनेहरुलाई जथाभाबी नबोल्न चेतावनीसमेत दिए।

प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहको कुण्डलीका आधारमा राजतन्त्र फर्कने भविष्यवाणी गरिएकोप्रति आलोचना गर्दै भने, “पूर्व राजाको कुण्डली हेरेर हुन्न, जनताको कुण्डली हेर्नुपर्छ।” उनले थपे, “राजसिंहासनको कल्पना अब हुँदैन। नेपाली जनताले फालिसकेको राजतन्त्र फर्कन सक्दैन।”

उनले पछिल्ला दिनमा आफू भाग्न हेलिकप्टर तयारी गरिएको भन्ने प्रकारका अफवाहप्रति पनि तीव्र आपत्ति जनाए। त्यस्ता उत्ताउला कुरा गर्नेहरू प्रतिगमनको कुचेष्टालाई मल दिन खोजिरहेका छन्," ओलीले भने, युवा सङ्घले अग्रपङ्क्तिमा रहेर प्रतिरोध गर्नुपर्नेछ।"

प्रधानमन्त्री ओलीले एमालेमाथि भित्री र बाह्य आक्रमण भइरहेको उल्लेख गर्दै पार्टीले देशमा सुशासन र विकासको पक्षमा काम गरिरहेको दाबी गरे। उनले एमालेमाथि झुटा आरोप लगाएर भ्रम सिर्जना गर्ने प्रयास भएको भन्दै त्यस विरुद्ध सबै देशभक्त एकजुट हुनुपर्नेमा जोड दिए।

उनले "अबको १४ महिनापछि काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको जिम्मा हस्तान्तरण गरेर निर्वाचन गराउने पनि स्पष्ट पारे। स्थिरता र सुशासनका लागि एमाले–काँग्रेस गठबन्धन बनेको हो," उनले भने।

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिमा काम भइरहेको जनाउँदै उनले कुनै अनुहार नहेरी कारबाही हुने बताए।

कार्यक्रममा महासचिव शङ्कर पोखरेल, मन्त्री पृथ्वी सुब्बा गुरुङ, सचिव पद्मा अर्याल, भानुभक्त ढकाल, महेश बस्नेत, राजीव पहारी, निरुदेवी पाल, किरण पौडेललगायत नेताहरूको उपस्थिति थियो। अध्यक्ष ओलीले युवा सङ्घलाई लुछाचुँडी नगरी सहमति या प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न आग्रह गरे।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार