‘पिङमा मच्चिनुको मज्जै बेग्लै हुन्छ’

मंगलबार, १४ असोज २०८२

म्याग्दी : वर्षा कम हुँदै गएपछि शरद्याममा खुल्न थालेको निलो आकाश । हरियाली पहाडको पृष्ठभूमिमा सेताम्मे हिमशृङखला ।

रातोमाटो र कमेरो छेपेर रङिएका घरहरू । खेत, बारीमा लहलह झुलेका धान र कोदोको बाला । लिङ्गे र रोटेपिङ्गमा मच्चिँदाको आनन्द ।

शरद्यामको मौसमसँगै चाडपर्वले मानिसहरूको मनमा उमङ्ग छाएको छ । सहर बजार र बिदेसिएकाहरू दसैँ पर्व मनाउनका लागि जन्मथलो फर्किएपछि म्याग्दीका गाउँघर गुुन्जायस भएका छन् । रोजगारी, अध्ययन, पेसा र व्यवसायको लागि बजार झरेका र बिदेसिएकाहरू जन्मथलो फर्किएपछि गाउँघरमा चहलपहल बढेको मालिका गाउँपालिका–३ का गोविन्द पटेलले बताए ।

“अघिपछि गाउँघरमा युुवाहरु नभएपनि बिदेसिएका र सहर पसेका आफन्तहरू गाउँ फर्केपछि रौनक छाएको छ,” उनले भने “चाडपर्वले वर्षौपछिका आफन्त, साथीभाइ र ईष्टमित्रहरुको मिलन गराउँदा उमङ्ग छाएको छ ।”

छ वटा स्थानीय तहको ४५ वटा वडा रहेको म्याग्दीमा एक लाख सात हजार जनसङ्ख्या छ । वि.स. २०६८ पछिको दश वर्षमा म्याग्दीको जनसङ्ख्या करिब सात हजार जनाले घटेको हो ।

गाउँगाउँमा सडक, घरघरमा खानेपानी, विद्युत्, इन्टरनेट सुविधा पुगेपनि गुणस्तरीय शिक्षा, स्वास्थ्य सुविधा र रोजगारीको अवसरका खोजीमा मानिसहरू सहर तथा बिदेसिने क्रम बढेको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा म्याग्दीका स्थानीय तहहरूमा ८९ परिवार बसाई सराई गरेर आउँदा दुई सय ४७ परिवारले थातथलो छोडेर अन्यत्र गएका छन् ।

अन्य समय विद्यालय उमेरका बालबालिका र ज्येष्ठ नागरिकहरू बढी भेटिने ग्रामीण क्षेत्रमा चाडपर्वको समयमा भने युवा उमेर समूहका मानिसहरूको चहलपहल बढेको छ । धवलागिरि गाउँपालिका–७ ताकमका सुनेश केसी पाँच वर्षपछि दसैँ मनाउन कोरियाबाट जन्मथलो आएका छन् ।

“चाडपर्वको समयमा विदेशमा गाउँघर सम्झिएर न्यास्रो लाग्थ्यो,” उनले भने “उकाली ओराली गरेका भूगोल, सँगै पढेका साथीभाइ, आफन्तजन र छिमेकीहरूसँगको आत्मीयता विदेशमा हुदैन् ।”

सहरबजार र विदेशको चाडपर्व घर र परिवारमा सीमित हुन्छ । गाउँघरको चाडपर्वमा मौलिकता र संस्कृति लुकेको हुन्छ । आफन्त साथीभाइ र इन्टमित्रहरुको भेटघाटले विगतको स्मरण गराई नयाँ योजना बनाउन सघाउने बेनी नगरपालिका–५ का दिनेश बानियाले बताए ।

 

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार