काठमाडौँ : जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज दिउँसो देशका विभिन्न भागमा मौसम बदली रहनेछ।
कोशी र मधेश प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली रहने अपेक्षा गरिएको छ भने बागमती र लुम्बिनी प्रदेशमा सामान्य बदली रहनेछ। बाँकी भू–भागमा भने आंशिक बदली रहने सम्भावना छ।
आज दिउँसो कोशी र मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। साथै, देशका अन्य प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा पनि यस्तै प्रकृतिको वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ।
कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने पूर्वानुमान समेत गरिएको छ।
राति कोशी, मधेश र बागमती प्रदेशसहित देशका पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।
रातिको समयमा पनि कोशी, मधेश र बागमती प्रदेशका साथै पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने पूर्वानुमान गरिएको छ।
विभागका अनुसार हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी बायुको प्रभाव सक्रिय रहेको छ।
प्रतिक्रिया