काठमाडौं : ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन बिजुलीको करिब ८ अर्ब रुपैयाँ बक्यौता उठाउन २५ वटा उद्योगको बिजुली आपूर्ति काट्दा काठमाडौं महानगरपालिकालाई भने उन्मुक्ति दिएको पाइएको छ ।
घिसिङ महानिर्देशक भएकै बेला नेपाल विद्युत् प्राधिकरणले काठमाडौं महानगरपालिकाले १ अर्ब ७८ करोड ९६ लाख रुपैयाँ बिजुलीको महसुल तिर्न बाँकी रहेको तथ्यांक सार्वजनिक गरेको थियो ।
त्यसयता पनि महानगरले यो बक्यौता तिरेको रेकर्ड प्राधिकरणसँग छैन । मन्त्री घिसिङले भने २ वटा सरकारी उद्योगसहित काठमाडौं महानगरको बक्यौता उठाउन चासो दिएका छैनन् ।
महानगरले पत्रमार्फत पैसा तिर्न भनेपछि महानगरले कुन बिलको कति रुपैयाँ तिर्न बाँकी छ भनेर प्रश्न सोधेपछि प्राधिकरणले हालसम्म त्यसको जवाफ नफर्काएकाले बिल तिर्न नसकिएको महानगरको दाबी छ ।
तर प्राधिकरणका अधिकारीहरू भने काठमाडौं महानगरले बिल तिर्न बखेडा झिकेको र वर्तमान मन्त्रीले चासो नदिँदा महानगरको मनोबल बढेको बताउँछन् ।
प्राधिकरणले पैसा उठाउन ताकेता गरेपछि उद्योगीहरूले पनि बिल माग्दै आएका छन् । तर प्राधिकरणले बिल उपलब्ध गराउनुको सट्टा सम्झौता देखाएर धमाधम बिजुली काटिदिएको व्यवसायीहरूको गुनासो छ ।
प्राधिकरणका प्रवक्ता राजन ढकालले तिहारमा ६ वटा उद्योगको लाइन काटिएकोमा शुक्रबार रातिदेखि थप १९ वटा उद्योगको बिजुली काटिएको बताएका छन् ।
बिजुली काटिएका उद्योगहरूमा पञ्चकन्या स्टिल, श्याम प्लास्टिक, गोयन्का फुड्स, कसमस सिमेन्ट, एसआर स्टिल, पञ्चकन्या प्लास्टिक, भलवारी स्वचालित कारखाना, जगदम्बा सेन्थेटिक, एभरेस्ट रोलिङ, घराना फुड्स, विशाल सिमेन्ट, बुटवल सिमेन्ट, निगाले सिमेन्ट, सिद्धार्थ पेट प्लान्ट, हिमाल आइरन, त्रिवेणी सिन्थेटिक यार्न र सोना मिनरल्स एन्ड आयल्स छन् ।
यसअघि नै जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सको लाइन काटिसकिएको छ । यी उद्योगहरूबाट मात्रै सवा ८ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया