मुख्य पर्यटकीय याममै देशभर मौसम प्रतिकूल बनेपछि पदयात्रा र भ्रमणमा निस्किएका पर्यटक सास्तीमा परेका छन्। उच्च पहाडी र हिमाली भेगमा निरन्तर हिमपात र वर्षा भइरहेकाले गण्डकी प्रदेशका मुस्ताङ, मनाङ, म्याग्दी, कास्की र गोरखा जिल्लाका अधिकांश पर्यटकीय गतिविधि स्थगित भएका छन्।
घुमघामको याममा मौसमले पर्यटकलाई ठूलो चुनौती दिएको छ। सुरक्षित स्थानमा रहेका पर्यटक हिमपातमा रमाइरहेका भए पनि हिमाली पदमार्गमा निस्किएका पर्यटकलाई भने गन्तव्यसम्म पुग्न कठिनाइ भएको छ। कतिपय क्षेत्रमा स्थानीयवासी र सुरक्षाकर्मीहरूले हिउँ पन्छाउँदै पर्यटकलाई सुरक्षित स्थानतर्फ लैजाने काम गरिरहेका छन्।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधारशिविरमा जनपद र सशस्त्र प्रहरी परिचालन गरी पर्यटकको सहजीकरण भइरहेको छ।
अन्नपूर्ण चक्रिय पदमार्गमा रहेका नौ जना अमेरिकी नागरिकसहितको टोलीका पथप्रदर्शक दिवस गुरुङका अनुसार वर्षा र हिमपातले पदयात्रा कठिन बनेको छ। “मनाङमा पनि भारी वर्षा र हिमपात भइरहेको छ, त्यसैले मौसम हेरेर मात्र अगाडि बढ्ने निर्णय गरेका छौँ,” उनले भने।
शरद ऋतुमा खुलेको आकाश, स्वच्छ हावा र हिमाली दृश्य नियाल्न अन्नपूर्ण क्षेत्रमा आउने पर्यटक अहिले बादल र झरीमा थुनिएका छन्। हिमाल, पाखा र उपत्यका सबै बादलले ढाकिँदा यात्राको रोमाञ्च हराएको पर्यटकहरू बताउँछन्। केहीले त यात्रा नै रद्द गरेका छन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख डा. रवीन कडरियाका अनुसार तिहारपछि पर्यटकको चहलपहल तीव्र बनेको थियो तर अहिलेको खराब मौसमले पर्यटन व्यवसायमा असर पुर्याएको छ। “भ्रमणमा आएका पर्यटकहरू होटलमै सीमित छन्। अहिलेसम्म कसैको ज्यान वा सम्पत्तिमा क्षति पुगेको सूचना आएको छैन,” उनले भने।
मौसम खुल्नासाथ पर्यटकीय गतिविधि पुनः चहलपहलमा फर्किने विश्वास कडरियाको छ। उनका अनुसार कात्तिक महिना पदयात्राका लागि सबैभन्दा अनुकूल मानिँदै आएको छ, तर यसपटक लगातारको हिमपात र वर्षाले योजना अवरुद्ध गरेको छ।
अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता र हिमाली जनजीवनका कारण पर्यटकको पहिलो रोजाइमा पर्ने गन्तव्य हो। कास्की, लमजुङ, मनाङ र म्याग्दी हुँदै यस क्षेत्रमा छोटोदेखि लामो दूरीका पदमार्ग रहेका छन्।
तर गत रातिदेखि मुस्ताङ र म्याग्दीका पर्यटकीयस्थलमा हिमपात र वर्षा तीव्र बनेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा मनाङको चामेमा ६४.४ मिलिमिटर र मुस्ताङको जोमसोममा ५१.२ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।
जोखिम बढ्न सक्ने भन्दै स्थानीय प्रशासनहरूले पदयात्रीलाई सचेत रहन र असुरक्षित क्षेत्रमा नजान आग्रह गरेका छन्। जिल्ला प्रशासन कार्यालय कास्कीले सार्वजनिक सूचना जारी गर्दै अन्नपूर्ण आधारशिविर, मर्दी हिमाल, खुमैडाँडा, कोरीलगायत स्थानमा मौसम सामान्य नभएसम्म पदयात्रा नगर्न आग्रह गरेको छ।
सूचनामा समूहमा यात्रा गर्न, आधिकारिक मौसम जानकारी पालना गर्न, न्यानो कपडा, पञ्जा, टोपी, ज्याकेट, तातोपानीसहितको थर्मस र आवश्यक औषधि साथमा लैजान सुझाव दिइएको छ। साथै, धुम्रपान र मद्यपानबाट टाढा रहनु, झोलिलो खानेकुरा र पर्याप्त तातोपानी सेवन गर्नु अनुरोध गरिएको छ।
हिमाल हेर्न निस्किएका हजारौँ पर्यटक अहिले बादलको कैदमा छन्। मौसम खुलेसँगै फेरि हिमाल मुस्कुराउने र पर्यटकको भीड बढ्ने आशा भने जिउँदो छ।
प्रतिक्रिया