सङ्खुवासभा : मकालु हिमाल आरोहणका क्रममा मकालु गाउँपालिका–२ स्थित मकालु आधार शिविर नजिक पुगेका इटालियन नागरिक जेसस मार्टिनेज नोभास खराब मौसम र भीषण हिमपातका कारण पाँच दिनदेखि उच्च हिमाली क्षेत्रमा अलपत्र परेका छन्।
लगातारको वर्षा र हिमपातका कारण करिब ५,७०० मिटर उचाइमा फसेका नोभासको उद्धार प्रयास मंगलबारदेखि असफल हुँदै आएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए।
उनीका अनुसार, हेलिकप्टरमार्फत उद्धारको तयारी भए पनि प्रतिकूल मौसमले अवरोध पुर्याइरहेको छ। “हेलिकप्टर माग गरेका छौँ, तर लगातारको खराब मौसमका कारण उडान सम्भव भएको छैन,” मैनालीले भने।
सङ्खुवासभाको उच्च हिमाली क्षेत्रमा निरन्तर वर्षा र हिमपात जारी छ। परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले चार हजार मिटरभन्दा माथि पदयात्रा नगर्न सूचना जारी गरेको छ।
प्रतिक्रिया