लेबनानको दक्षिणी क्षेत्रमा इजरायली सेनाको सीमाभन्दा घुसपैठ र आक्रमणपछि राष्ट्रपतिले आफ्नो सेनालाई तत्काल प्रतिकारको निर्देशन दिएका छन्। लेबनानी प्रेसिडेन्सीको विज्ञप्तिमा जनाइए अनुसार राष्ट्रपति जोसेफ आउनले लेबनानी सशस्त्र बलका कमान्डर रोडोल्फ हायकलसँगको भेटमा यो निर्देशन दिएका हुन्।
राष्ट्रपतिले यस आक्रमणलाई इजरायली आक्रमणको जारी प्रयासको रूपमा निन्दा गर्दै युद्धविराम सम्झौताका सर्तहरूको सम्मान गर्न र लेबनानी सार्वभौमिकता उल्लङ्घन रोक्न ठोस कदम चाल्न सेनालाई निर्देशन दिएका छन्।
लेबनानी रिपोर्ट अनुसार, बुधबार बिहान १ः३० बजे ब्लिडा गाउँमा इजरायली सेनाले सीमा नाघेर घुसपैठ गरेको थियो। आक्रमणको क्रममा ब्लिडा नगरपालिका भवनमा सुरक्षा दिँदै बसिरहेका कर्मचारी इब्राहिम सलामेहलाई गोली हानी हत्या गरिएको छ।
इजरायली सेनाले आफ्नो पक्षमा उक्त कारबाही हिजबुल्लाह पूर्वाधार नष्ट गर्ने अभियानका क्रममा ‘तत्काल खतरा’ पहिचान गरेपछि गरिएको बताएको छ। स्थानीय बासिन्दाहरूले सैनिक कारबाहीको क्रममा भवनबाट मद्दतको लागि बिहान ४ः०० बजेसम्म चिच्याइएको बताएका छन्। तर इजरायली सेना राति नै आफ्नो सीमातर्फ फिर्ता भएको थियो।
सन् २०२४ नोभेम्बर २७ देखि संयुक्त राज्य अमेरिका र फ्रान्सको मध्यस्थतामा हेजबुल्ला र इजरायलबीच युद्धविराम सम्झौता लागू भएता पनि इजरायली सेनाले लेबनानी सीमामा आक्रमण जारी राख्दै आएको छ। इजरायली सेनाले हिजबुल्लाहलाई खतरा ठानेर सीमाका पाँच मुख्य स्थानमा आफ्नो उपस्थिती कायम राखेको छ।
लेबनानी राष्ट्रपतिद्वारा सेना सक्रिय गराउन दिइएको निर्देशनसँगै क्षेत्रीय तनाव फेरि उच्च जोखिममा पुगेको छ।
राससको सहयोगमा
प्रतिक्रिया