एनपिएलमा आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

शनिबार, २७ मंसिर २०८२

काठमाडौँ : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल आज हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे ३ बजे सुरु हुने फाइनल खेलमा साबिक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दै छन्।

यो भिडन्त राष्ट्रिय टिमका कप्तान र उपकप्तानबीचको पनि हो। लुम्बिनीका कप्तान रोहित पौडेल राष्ट्रिय टिमका कप्तान हुन् भने सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरी राष्ट्रिय टिमका उपकप्तान हुन्।

दुवै टोलीले यसअघि उपाधि नजितेकाले एनपीएलले आज नयाँ च्याम्पियन पाउनेछ। साबिक विजेता जनकपुर बोल्ट्स लिगको पुछारमा रहेर बाहिरिएपछि एनपीएलले नयाँ च्याम्पियन पाउन लागेको हो।

सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै उपाधि नजिक पुगेको हो। लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो।

पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो। दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधिको दाबेदार टोली हो। गत वर्ष फाइनलमा जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि जित्ने लक्ष्यमा छ।

गत संस्करणमा लिग चरणको पुछारमा रहेर बाहिरिएको रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी यसपटक जसरी भए पनि ट्रफी भित्र्याउने दाउमा छ। लिग चरणमा यी दुईबीच भएको खेलमा सुदूरपश्चिमले ७ विकेटको जित हात पारेको थियो।

एनपीएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ। विराटनगर तेस्रो तथा काठमाडौँ चौथो भएको छ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा गत मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार