सवारी चालकलाई लक्षित गरेर तयार पारिएको प्रतिबद्धतामूलक स्टिकर कोशी प्रदेशमा सञ्चालन हुने प्रत्येक सार्वजनिक सवारीसाधनमा टाँस्ने तयारी रहेको उनले बताए ।
चालकले लेन अनुशासनको पालना गर्ने, पैदल यात्रुलाई प्राथमिकता दिने, जथाभावी ‘ओभरटेक’ र ‘पार्किङ’ नगर्ने, तीव्र गतिमा तथा लापसे (लागूपदार्थ सेवन) र मापसे (मादकपदार्थ सेवन) गरेर सवारी नलचाउने एवं सधैं ट्राफिक नियमको पालना गर्ने विषय उल्लेख गरेर स्टिकर तयार पारिएको हो ।
‘सवारी दुर्घटना बढ्यो । सरकारको मात्रै आश गरेर भएन । त्यही भएर यातायात व्यवसायी एवं मजदुर आबद्ध संघ संगठनकै अगुवाइमा नयाँ अभियानको सुरुवात गरिएको हो,’ उनले भने, ‘दैनिक दुर्घटनामा परेर मुलुकभर औसतमा ७–८ जनाको मृत्यु भइरहेको छ । ४० जनाजति घाइते भइरहेका छन् । १० वर्षको अवधिमा २८ हजार जनाको मृत्यु सवारी दुर्घटनामा परेर भएको छ ।’
दुर्घटना न्यूनीकरण गर्न सबैले हातमालो गर्नुपर्ने उनको भनाइ छ । ‘दुर्घटनामा १ जनाको मृत्यु भयो भने परिवारको सहारा टुट्छ । सबै हिसाबले परिवार ठूलो समस्यामा पर्छ । दुर्घटना गराउने चालक जेल जान्छन् । सडक दुर्घटनाका असरहरू धेरै छन् । त्यसबाट बच्न सबै सजग हुनु आवश्यक छ । चालक जिम्मेवार बन्नुपर्छ,’ उनले भने ।
सवारी सञ्चालन सम्बन्धी शिक्षाको आवश्यक रहेको बताउँदै राईले नेपालमा चालक र सहचालकलाई पढाउने ठाउँ नभएको उल्लेख गरे ।
‘नेपालमा सवारी र सडक शिक्षा प्रणाली छैन । सहर छिरेर केही समय सहचालक बनेपछि चालक बन्ने परिपाटी छ,’ उनी भन्छन्, ‘सरकारले चालकलाई यातायात सम्बन्धी शिक्षा दिन आवश्यक छ । चालकलाई लाइसेन्स (सवारी चालक अनुमति पत्र) दिनुअघि पढाउनलाई संरचना बनाइनुपर्छ ।’
कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले सडकको अवस्था ठीक नभएकाले पनि दुर्घटना बढेको बताए । ‘अधिकांश दुर्घटनामा चालकको लापरबाही देखिन्छ । ट्राफिक नियमको उल्लंघनलगायतका मानवीय कारण पनि छन् । केही दुर्घटना प्रतिकूल मौसम र सडकको खराब अवस्थाले समेत भएका छन्,’ उनले भने ।
दुर्घटना न्यूनीकरणको उद्देश्य राखेर जनचेतनामूलक कार्यक्रम नियमित सञ्चालन गरिएको जानकारी अधिकारीले दिए । चालु आर्थिक वर्षको हालसम्म १५ हजार हाराहारी जनचेतनामूलक कार्यक्रम गरिएको र त्यसबाट ३ लाखभन्दा बढी लाभान्वित भएको उनको भनाइ छ । चालकले सुरक्षित हिसाबबाट गाडी चलाउनुपर्छ भन्ने महसुस गरेमा दुर्घटना कम हुने उनले बताए ।
उनका अनुसार कोशी प्रदेशमा नौ लाख बढी सवारीसाधन दर्ता छन् । दुर्घटना हुनेमा सबैभन्दा धेरै २ पांग्रे सवारीसाधन रहेको जानकारी डीआईजी अधिकारीले दिए । ‘दुर्घटनाको अवस्था डरलाग्दो छ । त्यहाँमाथि २ पांग्रे साधन धेरै दुर्घटनामा परेका छन्,’ उनले भने, ‘नेपालमा ट्राफिक नियम नरम छ । सामान्य कारबाही मात्रै गरेर छाड्नुपर्ने अवस्थाका कारण दुर्घटना न्यूनीकरणमा समस्या भइरहेको छ ।’
दुर्घटना न्यूनीकरण गर्न चालकको ‘प्रोफायल’ तयार गर्नुपर्ने उनको भनाइ छ । तीव्र गति रोक्न ‘टाइमकार्ड’ लागू गरिएको उनले बताए । ‘लाइसेन्स नभएको व्यक्तिलाई गाडी चलाउन दिन हुँदैन भनेर घरघरमा सन्देश पुर्याउन आवश्यक छ,’ डीआईजी अधिकारीले भने, ‘दुर्घटना न्यूनीकरणलाई साझा मुद्दा र एजेन्डा बनाएर अघि बढ्नुपर्छ ।’
नेपाल ट्रेड युनियन कांग्रेसका मोरङ अध्यक्ष सुशील कोइराला, नेपाल यातायात व्यवसायी महासंघका सदस्य राजन कँडेललगायतले के कारणबाट दुर्घटना भइरहेको छ भनेर यकिन गर्दा मात्रै न्यूनीकरण गर्न सकिने बताए । ‘के कारणले दुर्घटना बढ्यो भनेर थाहा पाउन सकिएन । चालकलाई थुनेर मात्रै समस्याको समाधान हुँदैन,’ उनीहरु भन्छन् ।
विराटनगर महानगरपालिका–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने अभियान सफल पारेर चालकलाई जिम्मेवार बनाउनुपर्ने बताउँछन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका डीएसपी रामेश्वर त्वातीले ७० प्रतिशत दुर्घटना चालकको लापरबाहीले हुने गरेको बताए ।
दुर्घटना न्यूनीकरण गर्न र चालकलाई जिम्मेवार बनाउन सडकमा ट्राफिक सक्रियता बढाइएको उनको भनाइ छ । डीएसपी त्वातीले अधिकांश दुर्घटनामा चालक नै जिम्मेवार हुने बताए । अभियान सञ्चालनका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले सहजीकरण गर्नेछन् ।
प्रतिक्रिया