धरान । सडक दुर्घटनापछि स्पाइनलकर्ड इन्ज्युरीका कारण दश वर्षदेखि ओछ्यान परेका धरानका मजदुर पुण्य प्याकुरेललाई कतारमा कार्यरत यातायात मजदुर सुशील पोखरेलले दश हजार रुपैयाँ सहयोग गरेका छन्।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको उपस्थितिमा बिहीबार प्याकुरेलकै निवासमा पुगेर पोखरेलले सहयोग हस्तान्तरण गरेका हुन्।
संगठनका सदस्यसमेत रहेका पोखरेल धरान-१५ का स्थायी बासिन्दा हुन् र हाल कतारको अवेन्सल लाइटिङ कम्पनीमा लाइटिङ विशेषज्ञका रूपमा कार्यरत छन्।
सहयोग हस्तान्तरणका क्रममा पोखरेलले आफू पनि यातायात मजदुर भएकाले प्याकुरेलको अवस्था देखेर सहयोग गरेको बताए। उनले यसअघि पनि सहयोग गरिसकेको र भविष्यमा पनि गर्ने प्रतिबद्धता जनाए।
यस अवसरमा नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष सन्तोष काफ्ले, प्रेस चौतारी नेपाल सुनसरी अध्यक्ष विकास चाम्लिङ, तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानका अध्यक्ष किरण थापा पनि उपस्थित थिए।
२०७२ असार १५ गते सडक दुर्घटनामा परेपछि प्याकुरेल स्पाइनलकर्ड इन्ज्युरीका कारण ओछ्यान परेका छन्।
श्रीमती, छोरा र छोरीसहित भाडामा बस्दै आएका उनको परिवारका लागि २०७५ मा संगठनका अध्यक्ष भीमज्वाला राई तथा विभिन्न सहयोगदाताहरूको पहलमा घर निर्माण गरिएको थियो। तर, परिवार चलाउन तथा छोराछोरीको शिक्षाका लागि सहयोग आवश्यक रहेको छ।
प्रतिक्रिया