काठमाडौँ महानगर भित्रको विवाद सतहमा, गुरागाईँ हाजिर गर्न जाँदा घम्साघम्सी

विहीबार, २१ चैत्र २०८१
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्ष र कर्मचारीहरूबिचको विवाद सतहमा देखिएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ बिहीबार कार्यालय प्रवेशका क्रममा देखिएको दृश्यले यसलाई पुष्टि गरेको छ । तीन महिना १४ दिनपछि कार्यालय फर्केका गुरागाईँलाई मेयर बालेन्द्र साहले नगर प्रहरी परिचालन गरेर रोक्न खोजे पनि उपमेयर सुनिता डङ्गोल, कर्मचारी र वडाध्यक्षहरूको सहायतामा हाजिरी गराइएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईँलाई काठमाडौँ महानगरपालिकामा हाजिर गर्ने वातावरण बनाइदिन पत्र पठाएको ठ्याक्कै एक महिनापछि बिहीबार उनी महानगरपालिका पुगेका हुन् । गुरागाईँ कार्यालय पुग्दा मेयर साहले गुरागाईँलाई रोक्नको लागि नगर प्रहरी परिचालन गरेका थिए भने उनको कार्यकक्ष ताल्चा पनि लगाइ दिएका थिए । सोही क्रममा कर्मचारी र नगर प्रहरीबिच नै मुठभेड पनि भएको थियो । उपप्रमुख डङ्गोल, अधिकांश कार्यपालिका सदस्य, वडाध्यक्षहरू र कर्मचारीले उनलाई स्वागत गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत कार्यकक्षमा प्रवेश गर्न खोज्दा केहीबेर ठेलाठेल भएको थियो । कार्यकक्षमा लगाइएको ताला फुटाउन खोज्दा नगर प्रहरीले अवरोध गरेका थिए । वडाध्यक्ष र प्रशासकीय अधिकृतसहितका कर्मचारीलाई नगर प्रहरीलाई रोकेपछि बोर्ड बैठक हलमा उपप्रमुख डङ्गोल, वडाध्यक्षहरूसहित कर्मचारी बैठक बसेका थिए । अनौपचारिक बैठकमा डङ्गोलले मेयर साहको आलोचना गरेकी थिइन् । उनले हरेक घटनाक्रममा आफूहरू जानकार रहेको भन्दै मेयर साहलाई कोठामा बसेर निर्देशन नदिन आग्रह समेत गरिन् । डङ्गोल, वडाध्यक्ष, वडा सदस्य र कर्मचारीको साथ पाएपछि गुरागाईँ हाजिर गरेर मन्त्रालय आएका थिए । मेयर बालेनले लामो समयदेखि व्यक्तिगत ‘इगो’ का कारण प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाएर कर्मचारीहरूको नियमित तलब समेत रोक्का गरिदिएको भन्दै कर्मचारीहरू पनि असन्तुष्ट बनेका थिए । प्रमुख प्रशासकीय अधिकृत नहुँदा काठमाडौँ महानगरपालिकाका कर्मचारीले ३ महिनादेखि तलब भत्ता लिन नपाएको गुनासो गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार