विराटनगर : मोरङको मिक्लाजुङ घर भएका १ जना पुरुषको कुकुरले टोकेको केही समयमै मृत्यु भएको छ ।
प्रहरीका अनुसार मिक्लाजुङ गाउँपालिका–६ मगर टोलका अन्दाजी ६२ वर्षीय गौडे भनिने कृष्णबहादुर मगरको मृत्यु भएको हो ।
मगरलाई मोरङकै बेलबारी नगरपालिका–१० भाउन्नेमा कुकुरले बिहीबार बिहान टोकेको थियो ।
बेवारिसे कुकुरले टोकेर गम्भीर घाइते भएका उनी सडकमा लडिरहेको रक्ताम्मे अवस्थामा भेटिएका थिए । उद्धार गरेर उपचारका लागि पठाइएको बेलबारी–१० का वडाध्यक्ष गंगाबहादुर याक्खाले जानकारी दिए । उनका अनुसार मगर केही समययता भाउन्ने क्षेत्रमै बस्दै आएका थिए । बाटो हिँड्दै गर्दा अचानक बेवारिसे कुकुरले टोकेर उनी घाइते भएको याक्खाले बताए ।
उनका अनुसार दायाँ खुट्टाको पिँडुलामा टोकेर मगरलाई गम्भीर घाइते बनाएपछि घटनास्थलबाट कुकुर भागेको थियो । सडकमा लडिरहेको अवस्थामा उद्धार गरेर उपचारका लागि नगर अस्पताल बेलबारी लगिएको थियो । त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको कोशी अस्पताल पठाइएको याक्खाले बताए ।
अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएका हुन् । कुकुरले टोकेर लागेको चोटबाट अत्यधिक रक्तस्राव भएका कारण मगरको मृत्यु भएको चिकित्सकले बताएका छन् ।
प्रतिक्रिया