नयाँ वर्ष २०८२ को अवसरमा घिमिरे बन्धु प्रतिष्ठानले सप्ताह महायज्ञ आयोजना गर्ने

शुक्रबार, २२ चैत्र २०८१
काठमाडौं। घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान, नेपालले नयाँ वर्ष २०८२ को अवसरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा राष्ट्रिय धार्मिक महामहोत्सव आयोजना गर्ने भएको छ। प्रतिष्ठानले धार्मिक तथा आध्यात्मिक चेतना प्रवर्द्धन गर्दै सामाजिक सेवाका विभिन्न कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले उक्त महायज्ञ आयोजना गर्न लागेको हो। प्रतिष्ठानका अनुसार, महायज्ञबाट संकलित दान, दातव्य र आर्थिक सहयोग संस्थागत पूर्वाधार निर्माण तथा विभिन्न कल्याणकारी कार्यमा लगानी गरिनेछ। प्रतिष्ठानले सनातन परम्पराको संरक्षण गर्दै अध्ययन, अनुसन्धान तथा समाजसेवामा योगदान पुर्‍याउने लक्ष्य राखेको छ। सप्ताह महायज्ञ अन्तर्गत पहिलो दिन शोभायात्रा, शान्ति कलश यात्रा तथा उद्घाटन समारोह हुनेछ। त्यसपछि आठ दिनसम्म नियमित रूपमा पूजापाठ, कथावाचन, भागवत विसर्जन, तिलअर्पण तथा दीप प्रज्वलन गरिनेछ। अन्तिम दिन पूर्णाहुति गरिने छ। महायज्ञ अवधिभर ग्रहशान्ति, तुलादान, रुद्राभिषेक, ब्राम्हणभोजन, प्रसाद वितरण, ब्रतबन्ध र चौरासीपूजा जस्ता विशेष धार्मिक अनुष्ठान सञ्चालन गरिनेछ। साथै, प्रतिष्ठानले योग, ध्यान, रक्तदान सेवा, अक्षयकोष स्थापनाजस्ता सामाजिक गतिविधिहरू पनि अघि बढाउने योजना बनाएको छ। प्रतिष्ठानका सदस्य अजय घिमिरेका अनुसार, काठमाडौं उपत्यकाभित्र प्रतिष्ठानका लागि स्थायी भवन निर्माण गर्ने, अध्ययन केन्द्र स्थापना गर्ने तथा समाजसेवाका विभिन्न योजनाहरू कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ। प्रतिष्ठानले धार्मिक आस्थासँगै सामाजिक सेवालाई पनि प्राथमिकता दिँदै आएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार