प्रधानमन्त्री आउने भनेर पुगेका स्थानीय तहका जनप्रतिनिधि तथा स्थानीयलाई खिन्नता छाएको छ । एक जना स्थानीय तहका जनप्रतिनिधिले भने,‘प्रधानमन्त्री आउने भनेर भनिएको थियो तर ढाँट गरेजस्तै भएपछि म पनि गइन ।’
किन आएनन् प्रधानमन्त्री ?
प्रधानमन्त्री किन आएनन् भन्ने प्रश्नमा सरकारी अधिकारीहरू भने प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण आउन नसकेको जवाफ दिन्छन् । उद्घाटन समारोहमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नै भने,‘प्रधानमन्त्रीज्यू कार्य व्यस्तताका कारण आउन सक्नुभएन ।
तर उनले भनेजस्तो वस्तुस्थिति भने देख्न सकिँदैन । महिनौँ अगाडि बाट प्रधानमन्त्रीको नाम जोडेर प्रचार गरिनुका साथै २४ घण्टा अगाडि मात्रै प्रधानमन्त्री आउने जानकारी गराउनुले पनि कार्य व्यस्तता भनिनु प्रथमतः नै मिल्ने अवस्था रहँदैन ।
खास गरी पर्यटन वर्षको उद्घाटन अपेक्षा गरिए अनुसारको हुने नभएपछि प्रधानमन्त्रीको आउने कार्यक्रम रद्द भएको हो ।
पर्यटन वर्ष उद्घाटन गरिएको ठाउँ गुराँसको राजधानी तेह्रथुम हो । विगतका वर्षहरूलाई हेर्ने हो भने यो मौसममा गुराँसले जङ्गल ढकमक्क ढाक्नुपर्ने हो । तर, यो वर्ष पानी पर्न नसकेका कारण गुराँस फूल्न सकेको छैन ।
गुराँसलाई फुलाउनका लागि केही दिन अघि त्यहाँ दमकल लगायतको प्रयोगले पानी समेत गुराँसका बोटहरूमा हालिएको थियो । त्यस बेला प्रधानमन्त्री आउने भएपछि गुराँसमा पानी हालिएको भन्दै तीव्र आलोचना समेत भयो ।
प्रधानमन्त्री मात्रै नभएर पर्यटन वर्षको उद्घाटन समारोहमा छिमेकी मुलुक भारतका मुख्यमन्त्रीहरूलाई समेत निमन्त्रणा गरिएको भए पनि उनीहरूले पनि सहभागिता जनाउन सकेनन् ।
नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका सल्लाहकार विवेक गौतम लेख्छन्, ‘कोशी भ्रमण वर्ष उद्घाटन गर्ने गुराँसको जङ्गल नजिकै कङ्क्रिटका संरचना छन् । जलवायु परिवर्तन र यसको असर गम्भीर बन्दै छ ।’
वातावरण सम्बन्धी जानकारहरू वातावरण सम्बन्धी जानकारहरू जलवायु परिवर्तनका कारण यस प्रकारका असरहरू परिरहेको जनाउँदछन् ।
कार्यक्रमका सम्बन्धमा आलोचना भइरहेको र समारोह समेत उत्साहजनक नहुने भएपछि प्रधानमन्त्री नआएको कतिपयले तर्क गरेका छन् ।
कहाँ गए प्रधानमन्त्री ?
कोशी पर्यटन वर्षको उद्घाटन गर्न नआएर प्रधानमन्त्री ओली भने अर्घखाँचि पुगेका छन् । उनले अर्घाखाँचीको पाणिनी तपो भूमि सम्मेलनको उद्घाटन गरे ।
के छ पर्यटन वर्षको लक्ष्य
बुधवार आलोचना र बिस्मातका साथ उद्घाटन भएको कोशी पर्यटन वर्ष २०८२ को लक्ष भने प्रदेशलाई पर्यटकको माध्यमबाट सम्पन्न बनाइने छ ।
रमणीय कोशी नाराका साथ मनाइने वर्षमा पर्यटक आकर्षित गर्ने कार्यक्रमहरू वर्षै भरी आयोजना गरिने छन् । प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले समेत पर्यटन वर्षमा आवश्यक भौतिक पूर्वाधारको क्षेत्रमा काम गर्न सकिएमा हामी अरू वर्षहरूमा पर्यटकका लागि आवश्यक वातावरण सिर्जना हुने बताएका छन् ।
पर्यटन वर्षमा पर्यटन वर्षमा मुख्यतया: भारत, चीन, बङ्गलादेश र भुटानका १५ लाख बढी पर्यटक भित्राउने लक्ष्य राखिएको छ । १० करोडको सुनिश्चितताका साथ आयोजना गरिएको भ्रमण वर्षको उपलब्धि के त्यो चाहिँ हेर्न बाँकी रहेको छ ।
प्रतिक्रिया