इलाम । सूर्योदय नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०।८१ को लागि नीति कार्यक्रम पारित गरेको छ । सोमबार बसेको नगर सभाको १३ औ अधिवेशनको दोस्रो बैठकले नीति कार्यक्रम संशोधन सहित पारित गरेको हो ।
वैशाख ८ गते बसेको नगर सभाको बैठकमा नगर प्रमुख रणबहादुर राईले आगामी आर्थिक वर्षको लागि नीति कार्यक्रम पेस गरेका थिए । नगर सभाको सोमबारको बैठकमा बोल्ने नगर सभा सदस्यहरूले नीति कार्यक्रमका कतिपय विषय दोहोरिएको, समूहकृत गर्न आवश्यक भएको र संक्षेपिकरण गर्न सुझाएपछि नीति कार्यक्रम संशोधन सहित पारित भएको हो ।
सभामा आर्थिक विकास समितिका संयोजक देवेन्द्र शर्माले आर्थिक विकास समिति अन्तरगतका विषयक्षेत्र तथा उपक्षेत्रको नीति कार्यक्रमलाई समूहकृत र संक्षेपिकरण गरेर सभामा प्रस्तुत गरेका थिए ।
त्यस्तै भौतिक पूर्वाधार विकास समितिका संयोजक पेमा उर्गेन लामाले भौतिक पूर्वाधार विकास समिति अन्तरगतका विषयक्षेत्र तथा उपक्षेत्रका नीतिहरू, वन वातावरणमा तथा बिपद् व्यवस्थापन समिति संयोजक राजकुमार शेरेङले आफ्नो विषयगत समिति अन्तरगतका नीतिहरूलाई समायोजन र संक्षेपिकरण गरेर सभामा पेस गरेका थिए ।
त्यस्तै सामाजिक विकास समितिका सदस्य शिवकुमार बस्नेतले सामाजिक विकास समिति र सुशासन तथा संस्थागत क्षमता विकास समितिका संयोजक सोनाम छिरिङ लामाले आफ्नो विषयगत समिति अन्तरगतका नीति कार्यक्रमहरूलाई संक्षेपिकरण र समूहकृत गरेर सभामा पेस गरेका थिए ।
सभाको बैठकमा नगर सभा सदस्यहरू कमलप्रसाद गड्तौला, उर्मिला राई, पुण्यप्रसाद पोख्रेल, जगतबहादुर तामाङ र बिमल राईले नीति कार्यक्रम, सार्वजनिक महत्त्वको प्रस्ताव र ध्यानाकर्षण प्रस्ताव राखेका थिए ।
नगरसभामा आएका प्रस्तावको नगरप्रमुख रणबहादुर राईले सम्बोधन गरेका थिए । सभाबाट सूर्योदय नगरपालिकाको उपभोक्ता हित संरक्षणको पहिलो संशोधन विधेयक पारित गरेको छ । ऐनको संशोधन विधेयक उपप्रमुख दुर्गा कुमार बरालले प्रस्तुत गरेका थिए । नगर सभाको अर्को बैठक असार ३ गते बस्ने गरी स्थगित भएको छ ।
Discussion about this post