काठमाडौं । काठमाडौंबाट दुबईका लागि उडेको फ्लाइ दुबईको जहाजमा समस्या देखिएपछि अहिले आकस्मिक अवतरण गर्ने प्रयास गरिँदैछ।
त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयका एसएसपी लालमणि आचार्यले जहाजमा समस्या आएपछि अहिले आकस्मिक अवतरण गर्ने प्रयास भइरहेको जानकारी दिए।
जहाज ९ बजेर २३ मिनेटमा काठमाडौंदेखि दुबईका लागि उडेको थियो। अहिले जहाज आकाशमै फन्को लगाइरहेको छ। काठमाडौंबाट उडेपछि जहाजको एउटा इन्जिनमा आगलागी भएको एक जना कर्मचारीले बताए।
जहाज दुबईका लागि त्रिभुवन विमानस्थलबाट उड्ने बित्तिकै प्राविधिक समस्या आएको थियो । जहाजमा आगोको झिक्कासहित आकाशमै विस्फोटको आवाज सुनिएको थियो । विमानस्थलमा एम्बुलेन्स र दमकलसहितका सुरक्षा दस्ता स्ट्यान्डबाइ रहेको छ।
जहाजमा १२० विदेशी र ४९ जना नेपाली गरी जम्मा १६९ जना यात्रु रहेको पुष्टि भएको छ ।
Discussion about this post