इटहरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङका पछिल्ला अभिव्यक्तिप्रति पत्रकारका पेशागत संगठनले आपत्ति जनाएका छन् ।
आफैँले आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित पत्रकारले जिज्ञासा राख्दा उनले नियतपूर्वक प्रश्न गरेको एवं पार्टीबाट निर्देशिन रहेको अनर्गल आरोप लगाएका थिए ।
त्यस्तो निराधार आरोपप्रति पत्रकारका पेशागत संगठनहरुले विरोध जनाएका हुन् ।
विज्ञप्ति जारी गर्दै नेपाल प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर र समाजवादी प्रेस संगठनले नगर प्रमुखका अभिव्यक्ति पत्रकार जगतमाथि हस्तक्षेप भएको भन्दै आपत्ति जनाएका छन् ।
वैशाख १३ गते नगर प्रमुखले धरान इटहरी सीमा विवादबारे ग्यालेक्सी फोके टेलिभिजनका सुनसरी संवाददाता प्रकाश तिम्सिनाले प्रश्न गर्दा मेयरले बायस भएर प्रश्न किन गरेको भन्दै उल्टै प्रश्न गरेका थिए ।
त्यसको भोलिपल्ट कार्यपालिका बैठकका बारेमा ब्लाष्ट पत्रिकामा कार्यरत खिलानाथ विश्वकर्मालाई कुन पार्टीको पत्रकार हो ? किन हरेक प्रश्न पार्टीले गरेजस्तै हुने गरेको हो भन्दै बदनाम गर्ने कार्य गरेका थिए ।
यी दुई घटनाबारे चार संगठनले पत्रकारमाथि हस्तक्षेप स्वीकार नहुने भन्दै आफ्ना अभिव्यत्ति फिर्ता दिन नगर प्रमुख साम्पाङलाई आग्रह गरेका छन् ।
‘मेयरले दिएको अभिब्यक्ति निन्दनीय, खेदजनक र भत्र्सनायोग्य छ’ विज्ञप्तिमा भनिएको छ ‘उनको यो शैली प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार हो ।’
मेयरजस्तो पदमा बसेको व्यक्तिले सञ्चार माध्यमलाई संरक्षण गर्नुको सट्टा सार्वजनिक रुपमै पत्रकारको हुर्मत लिन खोज्ने उनको व्यवहारका कारण पत्रकारहरुले असुरक्षा अनुभूति गर्नु परेको भन्दै माफी माग्न संगठनले आग्रह गरेका छन् ।
पत्रकार महासंघ सुनसरीले पनि विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले मिडिया हाउसप्रति गरिने अमर्यादित व्यवहार सच्याउन मेयर साम्पाङलाई आग्रह गरेको छ ।
मेयर साम्पाङको व्यवहार एवं कार्यशैलीले कुनै पनि बेला अप्रिय घटना निम्त्याउन सक्ने भन्दै त्यस्तो घटना भएमा त्यसको जिम्मेवारी मेयरले लिनुपर्ने महासङ्घले चेतावनी दिएको छ ।
प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी, प्रेस चौतारी सुनसरी अध्यक्ष सुभद्रा प्याकुरेल, प्रेस सेन्टर सुनसरी अध्यक्ष तीर्थ कार्की र समाजवादी प्रेस संगठन सुनसरी अधयक्ष प्रेम बाँस्तोलाले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।
यसैगरी पत्रकार महासंघ शाखाका सचिव ध्रुव ढकालले पनि विज्ञप्ति जारी गर्दै मेयरको हैकमवादी शैलीको विरोध गरेका छन् ।
Discussion about this post