पाँचथर । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा उफ्रेकै भरमा प्रदेशको कोशी नाम फिर्ता नहुने दोहोर्याएका छन् ।
प्रदेशसभाबाट विधि र प्रक्रियाबाट राखिएको नाम कुनै हालतमा फिर्ता नहुने भन्दै ओलीले आन्दोलन छोडेर विकास निर्माणमा जुट्न पहिचान पक्षधरलाई सुझाव दिए ।
शनिबार सदरमुकाम फिदिममा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘दुई चार जना केटा सडकमा उफ्रँदैमा प्रदेशको नामकरण हुँदैन, सक्छौं भने जनताको मन जितेर दुई तिहाइ मतसहित संसद् छिरेर संशोधन गरेर देखाओ ।’
एमाले अध्यक्ष ओलीकै दबाबमा प्रदेश १ लाई जबरस्ती कोशी नामकरण गरिएको भन्दै पहिचान पक्षधर एमालेविरुद्व आक्रोशित भएका छन्।
विरोधको नेतृत्व गरिरहेका संघीय लोकतान्त्रिक मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकले एमाले, कांग्रेस र माओवादीले जबर्जस्त कोशी नाम राखेर पहिचान पक्षधरलाई उपेक्षा गरेकाले आन्दोलमा उत्रेको बताएका छन् ।
पहिचान पक्षधरहरुले ओली पाँचथर सदरमुकाम फिदिम आइपुग्दा मसाल जुलुस निकालेर विरोध जनाएका थिए ।
ओली पार्टीको कार्यक्रममा सम्बोधन गरिरहँदा पहिचान पक्षधरहरुले सदरमुकामका विभिन्न स्थानमा छरिएर उनको विरोध गरेका थिए ।
Discussion about this post