पतिसँग सम्बन्ध बिग्रँदै गएपछि आज बिहीबार घरमा ढुङ्गा बर्साउँदै गर्दा नेहा चौधरीसहित अर्की सहयोगी निहारिका राजपूतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पति डापङ्कज चौधरीको रामगोपालपुर–५ स्थित घरको मुख्यद्वारमा सहयोगी निहारिकासहित गत मङ्गलबारदेखि धर्ना दिँदै अनशनमा बसेकी नेहाले घर परिसरमा ढुङ्गा बर्साउन थालेपछि त्यहाँ बढेको तनाव रोक्न दुवैलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको हो । अनशनमा बसेका नेहा र निहारिकाले घरको मुख्यद्वारको ताल्चा नखोलिएर आफू घरभित्र पस्न नपाएको भन्दै गत मङ्गलबारदेखि नै धर्ना बस्दै आएका थिए ।
धर्नामा बसेकी नेहाले निहारिकाको सहयोगमा धर्नामा बसेको तीन दिन भइसक्दा पनि आफ्नै घरमा पस्न नपाइएको भन्दै ढुङ्गा बर्साउन थालेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको टोली घटनास्थल पुगेको थियो ।
नेहा र निहारिकाले अन्य सहयोगीको साथ लिँदै प्रहरी टोलीमाथि पनि ढुङ्गा बर्साएका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले जानकारी दिए । प्रहरीले तनाव नियन्त्रण गर्न पाँच सेल अश्रुग्यास पनि फायर गरेको जनाएको छ । झडपका क्रममा चार सुरक्षाकर्मी घाइते भएका छन् ।
Discussion about this post