विराटनगर : मोरङमा बालकहरूको एउटा समूहले वडा कार्यालय र स्वास्थ्य चौकीमा तोडफोड गरेको छ ।
प्रहरीका अनुसार रंगेली नगरपालिका–९ को कार्यालय र स्वास्थ्य चौकीमा तोडफोड भएको हो ।
तोडफोडमा संलग्न बालकहरू १६ वर्षमुनिका छन् । वडाध्यक्ष चूडामणि रेग्मीकाअनुसार मदिरा सेवन गरेर बसेका बालकहरूको समूहले घटना गराएका हुन् । वडा कार्यालय र स्वास्थ्य चौकी रंगेली–९ फर्साडाँगी भन्ने ठाउँमा छ । दुवै भवन एउटै परिसरमा छन् ।
५ वटा झ्यालको १० वटा पल्लाको सिसा फुटाइदिएको र जालीसमेत तोडिएको रेग्मीले बताए ।
‘छठको राति बालकहरुसहितको एउटा समूह वडा कार्यालय र स्वास्थ्य चौकी परिसरमा मदिरा सेवन गरेर बसेछ । सबैले मदिरा सेवन गरेपछि ढुंगाले हानेर सिसा फुटाइदिएको पाइयो । मदिराको नशामा घटना गराएछन्,’ उनले भने ।
रेग्मीले घटनामा संलग्न पाँचजनाको पहिचान भएको र उनीहरू ११ देखि १६ वर्षसम्मका रहेको बताए ।
‘सबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उमेर नपुगेका कारण उनीहरूलाई आवश्यकता परेका बेला उपस्थित गराउने सर्तमा अभिभावकको जिम्मा लगाएर पठाइएको छ । क्षति पुगेका झ्यालहरू पनि अभिभावकले नै मर्मत सम्भार गरिदिन्छौं भनेका छन्,’ रेग्मीले भने ।
उनकाअनुसार वडा कार्यालय र स्वास्थ्य चौकी एकान्तमा छ । पर्खाल नाघेर सहजै भित्र छिर्न सकिन्छ । कार्यालय परिसरलाई कुलतमा फसेकाहरूले जाँड रक्सी, गाँजा र चुरोट खाने ठाउँ बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाका बारेमा शनिबार बिहान थाहा पाएपछि प्रहरीलाई आफैंले खबर गरेको रेग्मीले बताए ।
घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।
Discussion about this post