विराटनगर । विपक्षी गठबन्धनले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनका लागि प्रदेशसभामा गर्ने प्रस्तावलाई असफल बनाउने भएको छ ।
काठमाडौंमा सोमबार आकस्मिक बैठक बसेर गठबन्धनले विश्वासको मत लिन प्रस्तुत हुने प्रस्तावलाई असफल बनाउने निर्णय गरेको हो ।
प्रदेशसभाको तेस्रो अधिवेशन असार १४ गते दिउँसो १ बजेका बोलाइएको छ ।
प्रतिपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) को प्रदेश संसदीय दलका नेतासहित सांसदको बैठक काठमाडौंमा बसेको हो ।
प्रदेश सरकारले ल्याउने विश्वासको मतको प्रस्ताव असफल बनाउन गठबन्धन दलहरु एकढिक्का हुने निर्णय बैठकमा भएको माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।
बैठकको निर्णय एकीकृत समाजवादीको कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईलाई जानकारी गराइएको र राईले निर्णयमा सहमति जनाएको उनले बताए ।
‘आङबोका अनुसार नयाँ सरकारको नेतृत्वका विषयमा केन्द्रले निर्णय लिने छ । कार्की नेतृत्वको सरकार ढालेपछि गठबन्धन दलकै नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गरिने उनले बताए ।
गठबन्धनको बैठकमा कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापा, प्रमुख सचेतक भूपेन्द्र राई, सांसद केदार कार्की, माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, सांसद जीवन आचार्य, राजेन्द्र कार्की र जसपा संसदीय दलका नेता निर्मला लिम्बूलगायत सहभागी थिए ।
माओवादी र जसपाले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्की अल्पमतमा परेका छन् ।
अल्पमतमा परेका कार्कीले जेठ ३१ गते प्रदेशको बजेट अधिवेशन अन्त्य गरेर ३२ गते अध्यादेशबाट बजेट ल्याएका थिए ।
९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्याउन ४७ सांसद ९प्रदेशसभा सदस्य० आवश्यक पर्छ । सत्तारुढ एमालेसँग ४० र राप्रपासँग ६ जना सांसद छन् ।
मुख्यमन्त्री कार्कीलाई विश्वासको मतका लागि थप १ सांसद आवश्यक पर्छ । प्रतिपक्षमा रहेकामध्ये कांग्रेससँग २९, सभामुखबाहेक माओवादीका १२, एकीकृत समाजवादी ४ र जसपासँग १ जना सांसद छन् ।
माओवादीबाट निर्वाचित सभामुख बाबुराम गौतमबाहेक विपक्षीको पनि ४६ जना मात्रै सांसद छन् । बराबरी मत भएका कारण नयाँ सरकार गठनमा निर्णायक मतका लागि प्रतिपक्षीले सभामुखको आश गरेको छ ।
यसैबीच, मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने र राजीनामा दिने दुवै सम्भावना रहने एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताएका छन् ।
Discussion about this post