काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीलाई शक्तिशाली बनाउन युवा कांग्रेस गठनको आवश्यकता औंल्याएका छन् ।
काठमाडौंमा आयोजित नेविसंघ र तरुणदलका नेताहरुसँगको छलफलमा उनले यस्तो बताएका हुन् ।
‘पार्टीका भ्रातृ संगठनलाई पूर्णता दिनु त छ नै सँगसँगै युवा कांग्रेस गठन समेत आजको आवश्यकता बनेको छ’ उनले भने, ‘पार्टीले एउटा नयाँ भ्रातृ संस्था गठन गर्नुपर्छ जुन जनताको आकर्षणको केन्द्र बन्न सकोस ।’
युवा कांग्रेसलाई भ्रातृ संगठनको राजनीतिबाट बाहिरिएका र विभिन्न वर्ग, पेशा र दलहरुबाट काँग्रेसका काम गर्न इच्छा राखेका नेताहरूका लागि स्कुलका रुपमा विकास गर्न सकिने उनको भनाइ छ ।
पार्टी र सरकार सञ्चालनको सैद्धान्तिक र व्यावहारिक सीप सिकाउने थलोका रुपमा युवा काँग्रेस बनाउन सकिने महरले उल्लेख गरे ।
‘पार्टीको महासमिति र महाधिवेशनमा पनि मैले यो एजेन्डा उठाएको थिएँ । अहिले यसको सान्दर्भिकता झनै बढ्दै गएको छ’ उनले भने, ‘नयाँ पार्टीहरु आएका छन् । हामीले पनि नागरिकमा नयाँ आभास गराउन युवा कांग्रेस गठन गर्नुपर्छ ।’
२०५१ सालको मध्यावधि चुनावपछि पार्टीमा संकट देखिँदा २०५४ सालम तरुण दल व्युँताइएको स्मरण गर्दै अहिले अहिले पनि युवा कांग्रेस बनाउनुपर्ने महरको तर्क छ ।
‘२०५१ सालपछि पार्टीमा संकट देखियो। त्यसपछि तरुण दल व्युँताउँदा कांग्रेसलाई बलियो बनाउन सहयोग पुग्यो । ०५६ मा कांग्रेसले बहुमत प्राप्त पनि गरेको थियो, अहिले पनि पार्टीमा संकट देखिएको छ । युवा कांग्रेस गठन गर्दा पार्टीलाई संकटबाट बाहिर निकाल्न मद्दत पुग्छ । यसमा पार्टी नेतृत्वको ध्यानाकर्षण गराउँदछु’ नेता महरले भने ।
पार्टीमा वैचारिक बहस सुस्ताएको भन्दै युवा कांग्रेसमार्फ त्यसको उठान गर्न सकिने उनले बताए ।
राजनीतिक नेता कार्यकर्ताले विकास, राजनीति, समाज, अर्थतन्त्र र नैतिक अनुशासन सिक्ने ट्रेनिंङ सेन्टरका रुपमा युवा काँग्रेसलाई विकास गर्न सकिने र विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिका लागि युवा कांग्रेसलाई पार्टीको प्रवेशद्वार बनाउन सकिने महरको भनाई छ ।
Discussion about this post