विराटनगर । कोशी प्रदेशसभाको तेस्रो अधिवेशन आज बिहीबार दिउँसो १ बजे बस्दैछ ।
नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको तेस्रो अधिवेशन बोलाइएको हो ।
सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) र नेकपा (माओवादी केन्द्र) ले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ ।
त्यही कारण मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।
कोशीमा सत्तारुढ एमालेसँग ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग ६ जना सांसद छन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्याउन ४७ सांसद चाहिन्छ ।
विपक्षी दलमध्ये नेपाली कांग्रेससँग २९, सभामुखबाहेक माओवादीसँग १२, नेकपा (एकीकृत समाजवादी) सँग ४ र जसपासँग १ जना सांसद छन् ।
नेपाली, माओवादी, एकीकृत समाजवादी र जसपा सम्मिलित गठबन्धनको पनि बहुमत पुग्दैन । गठबन्धनसँग पनि सभामुखबाहेक ४६ जना मात्रै सांसद छन् ।
सत्ता र प्रतिपक्षसँग सामान सांसद रहेका कारण कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया रोचक बनेको छ ।
संसदबाट विश्वासको मत पाउन नसके मुख्यमन्त्री कार्की पदमुक्त हुने छन् ।
हालको सरकार हट्ने अवस्था आए गठबन्धनबाट नयाँ सरकारको नेतृत्व कसले गर्नेभन्ने टुंगो लागिसकेको छैन ।
गठबन्धनले पनि सरकार गठनका लागि बहुमत पुर्याउन सक्ने सहज अवस्था देखिँदैन । सभामुखले मत दिन पाउने अवस्था आउँदा मात्रै बहुमत पुग्छ ।
एमाले कोशी प्रदेश संसदीय दलको बुधबार बसेको बैठकले सरकारका लागि संसदमा विश्वासको मत माग्ने र मत दिन कांग्रेसलगायतका दलसँग अनुरोध गर्ने निर्णय गरेको थियो ।
प्रदेशको औचित्य बचाएर राख्न र प्रदेशलाई स्थापित गर्नका लागि सबै दल एकजुट हुनुपर्नेमा एमाले अडिग छ ।
गठबन्धनमा आवद्ध दल आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउनेमा केन्द्रित छन् । संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि गत जेठ ३१ गते संसदको दोस्रो एवं बजेट अधिवेशन अन्त्य गरिएको थियो ।
अल्पमतमा परेको सरकारले जेठ ३२ गते आध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याएको थियो ।
Discussion about this post