विराटनगर । नेकपा (एमाले) ले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका लागि अन्य राजनीतिक दलहरुसँग विश्वासको मत माग्ने निर्णय गरेको छ ।
एमाले प्रदेश संसदीय दलको बुधबार बसेको बैठकले विश्वासको मत दिन नेपाली कांग्रेसलगायत प्रतिपक्षी दललाई अनुरोध गर्ने निर्णय गरेको हो ।
एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार संसदमा सरकारका लागि विश्वासको मत माग्ने र विश्वासको मत दिन कांग्रेसलगायत प्रतिपक्षी दललाई अनुरोध गर्ने निर्णय भएको बताए ।
प्रदेशलाई अस्थिर बनाउने र मध्यावधि निर्वाचनतिर लैजाने काम नगरी सहमतिको सरकार बनाएर ५ वर्षसम्मै लैजान एमाले केन्द्रित भएको उनले उल्लेख गरे ।
एमाले नेतृत्वको प्रदेश सरकार टिकाइराख्न १ मतको आवश्यक परेकाले विभिन्न विकल्प एवं सम्भावना रहेको भण्डारीले बताए । विपक्षी दलसँग पनि स्पष्ट बहुमत नभएकाले सहमतिको सरकार बनाएर जाने विषयमा छलफल भइरहेको उनको भनाइ छ ।
मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि कोसी प्रदेशसभाको तेस्रो अधिवेशन बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
यसैबीच, मुख्यमन्त्री कार्कीले आफू विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) ले समर्थन फितर्न लिएपछि एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ । जेठ ३१ गते संसदमै नीति तथा कार्यक्रम प्रस्तुत गरेको प्रदेश सरकारले बजेट अधिवेशन अन्त्य गर्दै भोलिपल्ट अध्यादेशमार्फत आगामी आर्थिकको बजेट ल्याएको थियो ।
संविधानको धारा १८८ को उपधारा ९२० बमोजिम मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभासमक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ ।
विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा ३ बमोजिम मुख्यमन्त्री पदमुक्त हुने छन् ।
विपक्षी गठनबन्धनले कार्कीले विश्वासको मत लिनका लागि प्रदेशसभामा गर्ने प्रस्तावलाई असफल बनाउने निर्णय यसअघि नै गरिसकेको छ ।
गत सोमबार काठमाडौंमा बैठक बसेर गठबन्धनले यस्तो निर्णय लिएको थियो । माओवादी कोसी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारले ल्याउने विश्वासको मतको प्रस्ताव असफल बनाउन गठबन्धन दलहरु एकढिक्का भएको बताए । मुख्यमन्त्री कार्कीले विश्वासको मत प्रयोजनका लागि प्रदेशसभामा पेश गर्ने प्रस्तावलाई पास हुन नदिने उनको भनाइ छ ।
कोशीको ९३ सदस्यीय प्रदेशसभामा बहुमत पु¥याउन ४७ सांसद आवश्यक पर्छ । एमालेका ४० र राप्रपाका ६ गरेर सत्तारुढसँग ४६ सांसद छन् । कार्कीलाई विश्वासको मतका लागि थप १ सांसद आवश्यक पर्छ ।
Discussion about this post