काठमाडौं । नेपाली कांग्रेस जिल्ला सभापतिहरुको भेलाले पार्टीलाई चलायमान बनाउने प्रतिबद्धता जनाएको छ ।
पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बोलाएको जिल्ला सभापतिहरुको भेला १४ बुँदे प्रतिबद्धता जारी गर्दै शुक्रबार सकिएको छ ।
पार्टी विधानले दिएको अधिकार बमोजिम बोलाइएको दुई दिने जिल्ला सभापतिहरुको भेलाले पार्टीलाई चलायमान बनाउने मूल प्रतिबद्धता जनाएको नेताहरुले बताए ।
क्रियाशील सदस्यता, कार्यसमितिहरुको सम्मेलन र पार्टी व्यवस्थापन विषयमाथि भेलामा गहन छलफल भएको थियो ।
यी विषय कांग्रेस विधानले महामन्त्रीको जिम्मेवारीमा राखेको छ । त्यही अधिकार प्रयोग गरी महामन्त्रीद्वय थापा र शर्माले बोलाएको भेलामा जिल्ला सभापतिहरुले निर्धारित विषयभन्दा बाहिर समेत चासो राखेका थिए ।
४१ जिल्ला सभापतिको प्रत्यक्ष सहभागिता र बाँकीले भर्चुअल माध्यम उपयोग गरेको भेलामा सभापतिहरुले मुख्यगरी बजेट, सरकार सञ्चालन र पार्टीभित्रको गुटबन्दीबारे कुरा उठाएका थिए ।
मोरङका सभापति एवम् संघीय सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु आफैंले बजेटप्रति असन्तुष्टि जनाएका थिए । आफ्नै नेता डा. प्रकाशरण महतले अर्थमन्त्री रहेर ल्याएको बजेट मन नपरेको उनको भनाइ थियो ।
‘अर्थमन्त्रीले गुट नमिलेका कारण बजेट कटाउनुभयो । मन्त्रीहरु बीचमा समन्वय भएको छैन, बजेटमा सबैतिर असन्तुष्टि छ’ कांग्रेस लिम्बुले भने ।
Discussion about this post