विराटनगर । भारतीय समूहसँग मिलेर दुईजना नेपाली युवकलाई अपहरण गरेको घटनामा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
अपहरणको योजना बनाउने एवं फिरौती रकम बुझ्ने काममा संलग्न रहेका सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का २९ वर्षीय सन्तोष बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।
सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईका अनुनसार भारतीय नागरिक इम्तियाजलगायत सम्मिलित हतियारधारी समूहसँग मिलेर बस्नेतले दुईजना नेपाली युवाको अपहरण गरेका थिए ।
बराहक्षेत्र–५ का १९ वर्षीय सौगात भण्डारी, २२ वर्षीय छविलाल आचार्य, हरि आचार्य र सुनील गिरी गरी चारजना युवा गत वैशाख २५ गते किनमेलका लागि भारतको बेला बजार गएका थिए ।
त्यहाँबाट फर्कने क्रममा सौगात र छविलाललाई हतियार देखाएर अपहरण गरिएको थियो । डीएसपी राईका अनुसार उनीहरु चढेको मोटरसाइकल नियन्त्रणमा लिँदै इम्तियाजलगायत सात जनाको समूहले अपहरण गरेको थियो ।
अपहरणपछि परिवारसँग फिरौतीवापत ५० लाख रूपैयाँ माग गरिएको थियो । वैशाख २६ गते भारतीय नम्बरको मोबाइलबाट फोन गरेर सौगातको बुवासँग फिरौती रकम माग गरिएको प्रहरीले जनाएको छ ।
रकम नदिए मारिदिने धम्की दिइएपछि सौगातका बुवा फिरौती रकम दिन तयार भएका थिए । उनले फिरौतीवापत वैशाख २६ गते अपहरणकारीलाई १ लाख ५० हजार रूपैयाँ बुझाएको पाइएको डीएसपी राईले बताए । उक्त रकम हाल पक्राउ परेका सन्तोषले बुझेको खुलेको छ ।
त्यसबीच, सौगात र छविलाल वैशाख २७ गते अपहरणकारीको पञ्जाबाट उम्कन सफल भएका थिए । प्रहरीका अनुसार अपहरणकारीले उनीहरुलाई बेला बजारको भित्री क्षेत्रमा स्थान फेर्दै बन्धक बनाएर राख्ने गरेका थिए ।
त्यही क्रममा राखिएको एक स्थानमा शौचालयको झ्यालबाट हामफालेर उनीहरु अपहरणकारीको पञ्जाबाट फुत्किएका थिए । नेपाल आएर प्रहरीलाई घटनाको जानकारी गराएको डीएसपी राईले बताए ।
त्यसपछि अपहरणकारीलाई नियन्त्रणमा लिन सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले विशेष टोली परिचालन गरेका थिए । अपहरणका मुख्य योजनाकार भनिएका सन्तोषले आपराधिक पृष्ठभूमिका भारतीय नागरिक इम्तियाजसँग मिलेर अपहरणको योजना बनाएको पाइएको डीएसपी राईको भनाइ छ ।
सन्तोषको घरबाट फिरौतीवापत लिएको १ लाख ५० हजार रूपैयाँ बरामद भएको छ । घरमा फेन्सिडललगायत लागूऔषध पनि बरामद गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर राजेश दत्त नेतृत्वको सन्तोषलाई पक्राउ गरेको हो ।
उनीमाथि अपहरण तथा शरीर बन्धक मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको उल्लेख गर्दै प्रहरीले अपहरणमा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको जनाएको छ ।
Discussion about this post