विराटनगर । सुनसरी र मोरङमा अति भारी वर्षा भएको छ । निरन्तर वर्षाका कारण अधिकांश स्थान जलमग्न बनेका छन् । कतिपय स्थानमा भलबाढी पसेर जनजीवन प्रभावित बनेको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज बिहान सार्वजनिक गरेको सूचना अनुसार पछिल्लो तीन घण्टायता सुनसरीको इटहरी, मोरङको लेटाङ, हरैचा आसपास अति भारी वर्षा भएको छ ।
बुढीखोला, केसलिया, सुनसरी खोला, लोहन्द्रा लगायत सुनसरी र मोरङका साना खोलाहरुमा आकस्मिक बाढीका साथै होचा स्थानमा डुबानको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ ।
ती क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । बाढी र डुबानका कारण सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई एसएमएस पठाएर सतर्कता अपनाउन भनिएको छ ।
मोरङको कानेपोखरी र आसपास क्षेत्रमा पनि पनि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ ।
बिहीबार राति सिन्धुलीको मरिन, रानिबास र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने साना खोलाहरुमा जलसतह बढ्ने तथा कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाका अनुसार आज सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
Discussion about this post