विराटनगर । सुनसरीको सुनसरी खोलामा आएको बाढीका कारण सिसुवाधरमपुर प्रहरी चौकी डुबानमा परेको छ । चौकी डुबानमा परेपछि त्यहाँ खटिएका प्रहरी विस्थापित भएका छन् ।
भोक्राहानरसिंह गाउँपालिका–८ मा रहेको सिसुवाधरमपुर चौकीमा असइ (सहायक निरीक्षक) रमेश परियारको नेतृत्वमा ६ जना प्रहरी कार्यरत थिए । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले डुबान भएपछि प्रहरीले चौकी छाड्नु परेको जानकारी दिए ।
बाढी पसेर चौकी क्षेत्रमा चार फिटसम्म पानी जमेपछि हातहतियार, सञ्चार सामग्री तथा बन्दोबस्तीका सामानसहित टोलीले चौकी छाडेका थिए । उनीहरु हरिनगरा गाउँपालिका–५ स्थित सिसुवाधरमपुर आधारभूत विद्यालयमा बसिरहेका छन् ।
मुसलधरे वर्षापछिको बाढीका कारण मोरङ र सुनसरीका दर्जनौं स्थान डुबानमा परेका छन् । शुक्रबार बिहानैदेखि निरन्तर वर्षा भइरहेकाले खोलाहरुमा पानीको बहाव उच्च बनेको छ ।
मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले ठाउँठाउँमा परिचालन गरिएका सुरक्षाकर्मीले सबैलाई सचेत रहन आग्रह गर्दै जोखिममा परेका सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न प्रयास गरिरहेको जानकारी दिए । खोलाहरुमा जल सतह बढेर खतराको तह आसपासमा पुगेसँगै तटीय क्षेत्रमा जोखिम बढेको एसपी पोखरेलले बताए ।
मोरङका बूढी, सिंघिया, लोहन्द्रा, बक्राहालगायतका दर्जनौं खोलामा बाढी आएको छ । बाढी आएपछि ठाउँठाउँमा कटान सुरु भएको छ । डुबान, कटान र बाढीको जोखिम बढेका कारण सर्वसाधारणलाई सचेत हुन प्रहरी तथा स्थानीय प्रशासनले आग्रह गरेका छन् ।
सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंंगानाले जिल्लाको दक्षिण, पश्चिम र उत्तरी क्षेत्रमा डुबानको समस्या देखिएको बताए ।
सप्तकोशी नदीले सुनसरीको वराहक्षेत्र, रामधुनीलगायतका स्थानमा कटान सुरु गरेको छ । दुई छेउको १ सयदेखि १ सय ५० मिटरसम्म जमिन कटान गरिसकेको जनाइएको छ ।
यसैबीच, मोरङको जहदा गाउँपालिका–३ स्थित भाथीगन्जमा बाढीले घर बगाएपछि ३ परिवार विस्थापित भएका छन् । सिंघिया खोलामा आएको बाढीले घर–टहरा भत्काउँदा खोला किनारमा बसोबास गर्दै आएकाहरु विस्थापित भएका हुन् ।
सार्वजनिक जग्गामा घर बनाएर बसेका अर्जुन मुखिया, सुरज मुखिया र विष्णुदेव मुखियाको घर बाढीले बगाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनीहरु बस्दै आएको घर–टहरा बाढीले भत्काएर बगाएको छ । विस्थापित भएकालाई सुरक्षित स्थानमा सारिएको छ ।
सिंघियाले कटान गर्दा खोला किनारमा बसोबास गर्दै आएका मञ्जय मुखिया र डब्बी मुखियाको घर जोखिममा परेको छ । दुवै परिवारलाई रामजानकी मन्दिरको सामुदायिक भवनमा राखिएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, नेपाली सेनाका प्रमुख सेनानी अमृत थापामगर, जिल्ला प्रहरी प्रमुख एसपी दीपक पोखरेल, सशस्त्र प्रहरी प्रमुख एसपी तीर्थ थापालगायतले बाढीग्रस्त क्षेत्रको स्थलगत अनुगमन गरेका छन् ।
Discussion about this post