विराटनगर । मोरङमा पिसाब गर्न भनेर घरबाट हिँडेका वृद्ध पुरुष खोलामा मृत अवस्थामा भेटिएका छन् ।
बूढीगंगा गाउँपालिका–७ का ९७ वर्षीय श्रीनारायण साहको शव शनिबार बिहान खदम खोलामा फेला परेको हो । साह पिसाब गर्न भनेर शुक्रबार राति ९ बजेतिर घरबाट निस्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
घर फर्किएर नआएपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार खोजी गर्ने क्रममा साहले प्रयोग गरेको लौरो घरबाट २५ मिटरजति उत्तरमा रहेको चतरा मूल नहरको डिलमा फेला परेको थियो ।
स्थानीयको सहयोगमा खोजी थालेको प्रहरीले शनिबार बिहान ६ बजेतिर वृद्धको शव फेला पारेको हो । नहरबाट करिब ३ किलोमिटर पूर्व–दक्षिणमा रहेको बूढीगंगा–७ र ग्रामथान–७ स्थित सीमा क्षेत्रमा रहेको खदम खोलामा साहलाई मृत फेला पारिएको डीएसपी दाहालले बताए । अल्झिएर पानीमा तैरिरहेको अवस्थामा वृद्धको शव फेला परेको थियो ।
डीएसपी दाहालले पिसाब गर्ने क्रममा नहरमा आएको बाढीले बगाएर वृद्धलाई खोलामा पुर्याएको हुनसक्ने बताए । इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर उदय शम्शेर राणा नेतृत्वको टोलीले शवलाई पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान सुरु गरेको छ ।
Discussion about this post