विराटनगर । नेपाली काँग्रेस संसदीय दलको नेताका लागि निरन्तर प्रयास जारी रहेको महामन्त्री गगन थापाले बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा संवाददाताहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
दलको नेताका लागि आफ्नो प्रयास जारी रहेको भन्दै उनले उपयुक्त संख्या हुँदा त्यसलाई परिवर्तन गर्ने अवस्था विधानमा रहेको उल्लेख गरे ।
उनले भने, ‘दलको नेता परिवर्तनको प्रयोग पार्टीभित्र भएको पनि छ । हिजोको दिनमा दलको नेता गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्रीबाट राजीनामा दिइसक्दा, त्यसबेला संख्या पुराएर तत्कालीन नेता शेरबहादुर देउवाले दलको नेताको लागि प्रयास गर्नुभएको र सफल समेत हुनुभएको थियो । त्यसैले काँग्रेसभित्र आवश्यकता हुँदा र संख्या पुग्दा दलको नेता परिवर्तन भएको इतिहास छ ।’
डा. शेखर कोइराला र तपार्इंहरु फरक यात्रामा लाग्नु भएको भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘होइन, छैनौँ, सँगै छौँ ।’
महामन्त्री थापाले जारी केन्द्रीय कमिटि बैठकले नीति महाधिवेशनको मिति तय गर्ने बताए । पछिल्लोसमय मुलुकमा दलहरु गठबन्धन गर्दै अघि बढ्ने परम्परालाई रोक लगाउदै अघि बढ्न काँग्रेसको नीति महाधिवेशन तयार हुनुपर्ने महामन्त्री थापाको भनाई छ ।
पार्टीका नेताहरुको ध्यान जारी बैठकबाट नीति महाधिवेशन भदौ मसान्तसम्ममा सम्पन्न गर्ने मिति तय गर्नुपर्नेमा ध्यानाकृष्ट रहेको महामन्त्री थापाको भनाई छ ।
नीति महाधिवेशनलाई पार्टीको हित हुनेगरि सर्वोत्तम उपयोग गर्नुपर्ने महामन्त्री थापाले बताए ।
Discussion about this post