इटहरी/ इटहरी–धरान सडकखण्डस्थित कोसी राजमार्गमा पर्ने चारकोसे जंगलको सेउती पुलमा गोली हानेर एक युवकको हत्या भएको छ ।
धरानबाट इटहरीतर्फ आउँदै गरेको र केही समय जंगल साइटमै बसिरहेका युवा–युवतीमध्ये युवकलाई गोली प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख, एसपी प्रभुप्रसाद ढकालले पुष्टि गरे ।
उनका अनुसार हत्या हुनेमा विराटनगर घर भएका २८ वर्षीय रोहित चौधरी रहेका छन् । आज (शुक्रबार) साँझ साढे ५ बजेतिर घटना भएको हो ।
‘सेउती पुलको बीचबाट जंगलपट्टी मोटरसाइकल रोकेर बसिरहेको अवस्थामा तीनजनाको समूहमा आएका युवाहरूमध्ये एकजनाले गोली प्रहार गरेको खुलेको छ,’ ढकालले भने, ‘ती व्यक्तिको हुलिया पनि पाइसकेका छौँ, प्रकृति पहिचान भइसकेको छ, हामीले खोजी कार्य तीव्र बनाएका छौँ ।’
गोली लागेर गम्भीर घाइते भएका चौधरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा साँझ साढे ६ बजेतिर मृत्यु भएको ढकालले बताए ।
उनका अनुसार मृतक चौधरीसँगै रहेकी विराटनगरकै सुमना खत्रीको अवस्था सामान्य छ ।
रोहित र सुमना प्रेमीप्रेमिका भएको बताइएको छ । उनीहरू धनकुटामा घुमेर घर फर्कदै गर्दा थकाई लागेर सेउती पुलमा मोटरसाइकल रोकेका थिए ।
गोली लागेर गम्भीर घाइते बनेपछि रोहितलाई उनै सुमनाले एम्बुलेन्समा राखेर हस्पिटलसम्म ल्याएकी थिइन् ।
घटनामा संलग्नलाई तीव्र रूपमा खोजी सुरु गरी घटनाबारे सुक्ष्म अनुसन्धान सुरु गरिएको सुनसरी प्रहरीले जनाएको छ ।
Discussion about this post