इलाम । पर्यटक आकर्षित गर्ने थुप्रै उपाय छन् । नयाँ कुरा जोकोहीले चाहिरहेका हुन्छन् । नयाँ ठाउँ र नयाँ कुरा अझ बढी घुम्न चाहने पर्यटकहरुले खोजिरहेका हुन्छन् ।
इलामको कन्याममा पर्यटकका लागि अब नयाँ आकर्षण थपिएको छ । कोशी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्यको रुपमा रहेको सूर्योदय नगरपालिकाको कन्याममा ‘एटिभि’ राइड (चार पाङ्ग्रे बाइक) को मज्जा लिन पाइने भएको छ ।
कन्याम एडभेन्चर प्रालीले आन्तरीक र बाह्रय पर्यटकका लागि चियाबारी घुम्न (एटिभि राईडको शुरु गरेको हो । चिया बगानका भित्रि सडकमा समेत सहजगरी कुदाउन मिल्ने बताइएको छ ।
सुन्दर अनी हरियाली चियाबारीको दृष्य अवलोकनसँगै चार पाङ्गे बाईकको आनन्द लिन सकिने छ । पर्यटकिय नगरीको रुपमा अघि बढेको यस नगरपालिकामा थुप्रै पर्यटकिय स्थलहरु छन् । यहाँका बिभिन्न स्थलमा पर्यटकको बसाइ लम्ब्याउन बिभिन्न नयाँ खालका कामहरु समेत हुन थालेका छन् ।
नगरपलिका भित्रका क्षेत्रमा नयाँ किसिमको साहसिक पर्यटनलाई भित्रिएको भन्दै सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले खुसी ब्यक्त गरे । उनले यसले समेत पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने विश्वास ब्यक्त गरे ।
बाहिरबाट यात्रा गरेर कन्याम आउने पर्यटकले यहाँको सौन्दर्यसँगै थप आनन्द लिन पाउने सूर्योदय नगरपालिकाका उपमेयर दुर्गा बरालले बताए । नीजि क्षेत्रबाट भए पनि नयाँ कामको सुरुवात भएको उनको भनाई छ । पर्यटकीय क्षेत्रको विकासका लागि नीजि क्षेत्रसँग मिलेर अघि बढिरहेको र आगामी दिनमा समेत आफुहरु नीजि क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उनको भनाई छ ।
बाइक जस्तै भएपनि यसका चार वटा पाङ्ग्रा भएकाले कुदाउन सहज हुने बताइएको छ । कन्याम भित्रिएका पर्यटकले परिवार सहित कन्यामलाई मज्जाले घुमेर हेर्न पाउने एचआरएस एडभेञ्चरका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए । बिशेष गरेर युवायुवती यहाँ बढि आउने गरेका छन् । उनीहरुलाई यो सेवा नयाँ लाग्ने र यो सुविधा लिने भएकाले पनि नयाँ कामको थालनी गरिएको जनाइएको छ ।
कन्याम एडभेञ्चर प्रालीको लगानी र एचआरएस एडभाञ्चरको व्यवस्थापनमा शुरु भएको नयाँ सुविधा थप भएको बताइएको छ । उपाध्यायका अनुसार कन्याममा सञ्चालन शुरु भएको सेवा उपयोग गर्नेले एक रुटमा यात्रा गर्दा आफै वाइक चलाउनेले ३ हजार पाँच सय तिर्नुपर्ने छ भने चालकबाहेक पछाडि बस्दा २ हजार पाँच सय बुझाउनु पर्ने हुन्छ ।
कम्पनीले एटिभि वाईक यात्राका लागी चारवटा रुट निर्माण गरेको जनाएको छ । यसअघि पर्यटकले घोडचढीबाट चिया वगानको आनन्द लिने गरेका थिए । सूर्योदय नगरपालिकामा दर्ता गरेर नै कन्याममा घोडचडी ब्यवसाय समेत सञ्चालनमा रहेको छ ।
यहाँ दुई दर्जनभन्दा बढी घोडाबाट ब्यवसायीले पर्यटकलाई घोडचडीको सुविधा दिँदै आएका छन् । घोडचडी गरेर तस्विर खिच्ने तथा टिकटक बनाउने उत्तिकै संख्यामा पर्यटकहरु रहेका छन् ।
दुई वटा वाइकबाट शुरु गरिएको सेवाका लागि अहिले सम्ममा डेढ करोड लगानी भइसकेको कम्पनीले जानकारी दिएको छ । एउटा एटिभि वाइकलाई ३५ लाख पर्ने जनाइएको छ । यस स्थानमा पर्यटकको माग बढेमा तत्कालै १३ वटा एटिभि वाईक थप गरि १५ वटा पुयाउने लक्ष लिइएको उपाध्यायको भनाई छ । यसका लागि आठ करोड लगानी गर्ने योजना रहेको उनले बताए ।
कन्यामलाई लक्षित गरेर केवलकार सञ्चालन गर्ने समेतको योजना रहेको उनको भनाई छ । ‘स्काइवाक, वञ्जीजम्प लगायतमा काम गर्ने तयारी सहित इलाम आएको उनी बताउछन् ।
मेची राजमार्गमा बिचमा नै पर्ने कन्याममा दैनिक हजारौँ पर्यटकहरु आउने गरेका छन् । गर्मी सिजन भएका कारण पनि तराईका जिल्लाबाट गर्मी छल्न यहाँ तराईबाट धेरै पर्यटकहरु आउने गरेका छने । हरियाली चियाबारी सहित कामको थकान मेटाउन समेत यहाँ धेरै पर्यटकहरुको आगमन हुने गरेको छ ।
Discussion about this post