अम्बिका खरेल उप्रेती
तिमी तारा हेर्छौ
ऊ जस्तै भएर बस्न चाहन्छौ
म आकाश हेर्छु
त्यसरी नै बस्न चाहन्छु
बाटो आ आफ्नै हुन्छ
प्रगतिको, उन्नतिको र अवनतिको
सगरमाथा टेक्ने रहर
कसलाई हुन्न र ?
चन्द्रमा छुने कल्पना
कसले गर्दैन र ?
लक्ष्यमा लक्षित नभएसम्म
रहर र कल्पनाले मात्र
गन्तव्य भेट्न हम्मेहम्मे पर्छ
खोबिल्टा आउँछन् बाटोमा
पहिरोमा पर्छ घर र
भूइँचालो जान्छ जीवनमा
र ध्वस्त हुन्छ लौकिक संसार
आफूले सोचेका
आवरणमा देखिएका
दृश्यमा भेटिएका र
शब्दमा कोरिएका बाटा
कहाँ छन् र अहिले ?
उर्लिएको खहरेझैँ
एक्कासी आउँछ र
बगाउँछन् जीवनका आशाहरू
काँधभरि पसिना चुँहाएर
अहोरात्र परिश्रम गरे पनि
हात लाग्यो शून्य हुन्छ
मेरा शब्दहरू हर वाणीहरू
सलल बगे पनि
सुखानुभूतिको तरङ्गमा
कालले पछ्याउन छोड्दैन
सुख,शान्ति र समृद्धिको
नयाँ बाटो नखोलेसम्म
-विराटनगर
Discussion about this post