इटहरी : इटहरीमा ‘सांस्कृतिक रूपान्तरणमा पेसाकर्मीको भूमिका’ विषयक विचार गोष्ठी आयोजना भएको छ । बुधबार इटहरीमा पेसागत महासंघ सुनसरीद्धारा आयोजित ‘सांस्कृतिक रूपान्तरणमा पेसाकर्मीको भूमिका’ विषयक विचार गोष्ठी आयोजना भएको हो ।
कार्यक्रममा डा. दिवाकर रेग्मीले कार्यपत्र प्रस्तुत गरेका थिए भने वक्ताका रूपमा प्रकाश राई र सोनु जयन्ती रहेका थिए । कार्यपत्र प्रस्तुत गर्दै डा. रेग्मीले समाजवाद उन्मुख संस्कृति निर्माण गर्नको लागि पेसाकर्मीको भूमिका महत्वपूर्ण हुने तर्क गरे ।
उनले भने, ‘आज पुँजीवादले दिएका तमाम सुविधा प्रयोग गरिरहेका छौँ, पुँजीवादले ल्याइदिएका अर्थतन्त्रको क्रियाकलापमा अगाडि र सांस्कृतिक परिवर्तनलाई आत्मसाथ गरेर हिँडेका छौँ ।’
उनले संस्कृति भन्ने बित्तिकै दसैँ, तिहार, उधौली, उभौली, धान नाच वा अन्य कुनै पर्व मात्रै नरहेको बताउँदै संस्कृतिको महत्वपूर्ण पाटो भने छुटिरहेको बताए । नेपाली समुदायभित्र संस्कृतिको बहस हुँदा हिजोको संस्कृति र आजको संस्कृतिभित्र ब्यूरोक्रेसीको रोल के हो ? भन्नेबारे बहस हुन आवश्यक रहेको उनको भनाइ छ ।
‘हामीले शैक्षिक संस्कृति, स्वास्थ्य संस्कृतिबारे कुरै गरेका छैनौँ, खासमा श्रम भनेको भौतिक उत्पादन मात्रै होइन । हामी सामाजिक भएर हेर्ने हो भने हामी मानव भइसकेपछि हाम्रो मानवप्रतिको अर्को जिम्मेवारी पनि होला, त्यो बाट बहस हुन आवश्यक छ,’ उनले भने, ‘हामीलाई पुँजीवादले त्यो सिकाएको छैन, हामी आफैँ जस्तो हुन सकेनौँ ।’
कार्यक्रमका वक्ता, एकीकृत सरकारी कर्मचारी संगठनका महासचिवसमेत रहेका राईले एड्भोकेसी हुनु र एकेडेमिक हुनुमा आकाश पातलको फरक रहेको बताए । राईले भने, ‘बुद्धिजीवी पनि पार्टीको भइदिनुपर्ने ? अथवा, अहिले त जातिको पनि भइदिनुपर्ने ? अझै बढी क्षेत्रको पनि भइदिनुपर्ने ? हाम्रो संस्कृति कतातिर जाँदैछ ?’
आार्थिक, राजनीतिक र सांस्कृतिक आयामबाट मानिसको संगठित जीवन चलिरहेको उनको तर्क छ । अहिलेको नेपाली समाज कर्पोरेट संस्कृतिमा केन्द्रीत भएको उनी बताउँछन् । ‘अब हामीलाई खोलाको माछा होइन, प्याकिङ गरेको माछा चाहियो । यो च्यालेन्जमा अल्पसंख्यकहरूले सामना गर्नको निम्ति नयाँ जुक्ति र बहस अगाडि बढाउन आवश्यक छ,’ उनले भने ।
अर्का वक्ता, कलालय इटहरीका अध्यक्षसमेत रहेका नाट्यकर्मी जयन्तीले जीवनमा थाहा हुनु र हुनुबीचको अन्तर छुट्याउनुपर्ने सुनाए ।
‘संस्कृतिको कुरा गर्दा भूगोलको कुरा आउँदोरहेछ । मानिस कोही मान्छे गोरा छन्, कोही काला छन् । हरेक ठाउँको संस्कार र संस्कृति फरक हुनुको कारण भनेको भूगोल नै हो,’ उनी भन्छन्, ‘भूगोल र वरिपरीको वातावरणले निर्माण गर्ने चीज र जीवनशैलीको रूपमा जे उतारिन्छ त्यो नै संस्कृति हो ।’
भूगोल फरक हुनेबित्तिकै बजारीकरण र काम गर्ने तरिका नै अलग हुने उनको तर्क छ । सांस्कृतिक रूपान्तरण भनेको रूपलाई अन्तर पार्ने प्रक्रिया रहेको उनले सुनाए । जे भइरहेको थियो, त्यो होइन, त्यसलाई राम्रो कसरी गर्ने भन्ने बोध हुनु नै सांस्कृतिक रूपान्तरण रहेको उनको भनाइ छ ।
आयोजक संस्था पेसागत महासंघ सुनसरीका अध्यक्ष राजनकुमार ढकालले सांस्कृतिक चेतना शैक्षिक चेतनाभन्दा शक्तिशाली हुने बताए । सांस्कृतिक चेतनाले व्यक्तिगत चेतना निर्धारण गर्ने उनको भनाइ छ ।
Discussion about this post