बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिकामा आफू जापान जाने भएपछि नगर प्रमुखले वडाअध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिएका छन् ।
नगर प्रमुख मेगाहाङ थोप्रा ‘रोशन’ ले वडा नम्वर ४ का वडाध्यक्ष विष्णु प्रसाईंलाई जिम्मेवारी दिएका हुन् । उनले वडाध्यक्ष प्रसाईंलाई लिखित रुपमा कार्यबाहक भई काम गर्न भन्दै सात दिनसम्मका लागि नगरप्रमुखको जिम्मेवारी सुम्पिएका हुन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ लाई लत्याउँदै नगरप्रमुख थोप्राले वडाअध्यक्ष प्रसाईंलाई कार्यबाहकको जिम्मेवारी दिएसंगै नगर उपप्रमुख नरमाया कार्की चकित बनेकी छन् ।
‘ऐनको परिच्छेद ३ को १२ मा नगर प्रमुख वा अध्यक्ष सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा अपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिन सक्ने उल्लेछ छ’ उपप्रमुख कार्कीले भनिन् ‘म हुँदाहुँदै अध्यक्षज्यूले कार्यबाहक किन वडाध्यक्षज्यूलाई दिनुभयो म अचम्ममा परेकी छु ।’
शिवसताक्षी नगरपालिकामा जापान सरकारद्वारा सञ्चालित कृषि परियोजना सञ्चालनमा रहेको छ । सोही क्रममा जापानको कृषि प्रणालीको अवलोकनका लागि नगर प्रमुख थोप्रा जापन जाने भएपछि नगरको कार्यबाहक जिम्मेवारी वडाध्यक्ष प्रसाईलाई दिएका हुन् । उनले साउन ३१ गतेदेखि लागू हुने गरी कार्यवहाकको जिम्वेवारी दिएसंगै नगर प्रमुख थोप्रा कार्यलयमा अनुपस्थित छन् । तर, नगरप्रमुखको कुर्सीमा वडाध्यक्ष बसेसँगै शिवसताक्षी नगरपालिकामा खैलाबैला मच्चिएको छ ।
नगरप्रमुख थोप्राले प्रसाईलाई कार्यबाहक दिएको पत्रको बोधाार्थ जिल्ला प्रशासन कार्यालय झापा, मालपोत कार्यलय भद्रपुर, इलाका प्रशासन कार्यालय दमक, नापी कार्यालय भद्रपुर, दमक, जनताको तटवन्धन कार्यालय गैडेलाई दिएका छन् । उनले भदौं ५ गतेसम्मका लागि प्रसाईलाई कार्यबाहक दिएका हुन् ।
‘आफूहरु बीचमा हालसम्म कार्यसम्पादनमा कुनै विवाद र समस्या नभएपनि नगरप्रमुखज्यूले किन त्यसो गर्नुभयो मैले सोधेकी छैन उपप्रमुख कार्कीले भनिन्, ‘उहाँ राम्रै कामका लागि जापान जान लाग्नुभएको छ । यात्रा सफलता र कार्य सफलताको शुभकामना व्यक्त गर्छु ।’
जापान सरकारद्वारा जाइका नामक कृषि परियोजना सञ्चालनमा रहेको र सोही परियोजनाको कामले नगरप्रमुख जापान जान लागेको उनले बताइन् ।
शिवसताक्षी नगरपालिकामा प्रमुख र उपप्रमुख दुबै पद नेकपा एमालेले जितेको हो । तर, प्रमुख र उपप्रमुख बीच के कुरामा बेमेल भयो सो भने खुल्न नसकेको स्थानीयले बताउँदै आएका छन् ।
उनीहरु बीचमा हुने गरेको बेमेलका कारण उपप्रमुखलाई जिम्वेवारी नदिई वडाध्यक्षलाई जिम्वेवारी दिनुले नगरप्रमुख र उपप्रमुख बीचको बेमेल छताछुल्ल भएको स्थानीयले बताएका छन् ।
यता नगरप्रमुख थोप्राले आफू केही समयका लागि मात्रै बाहिर रहने भएकाले वडाध्यक्षलाई जिम्बेवारी दिएको बताएका छन् । ‘नियमअनुसार मिल्दैन थियो’ नगर प्रमुख थोप्राले भने ‘बीचमा केही समस्या भए म फोनबाट भए पनि ‘वीड्र’ गर्छु ।
Discussion about this post