इटहरी । महिला उद्यमीहरुले उत्पादन गरेको उत्पादनलाई बजारीकरणमा सहयोग पुर्याउन उद्योग वाणिज्य संघ इटहरीको महिला उद्यम समितिले मेला आयोजना गर्ने भएको छ ।
मेला भदौ १५ गतेदेखि १७ गतेसम्म आयोजना गरिने जनाइएको छ । महिला उद्यमीलाई प्रोत्साहन गर्दै उनीहरुले उत्पादन गरेका वस्तुको बजारीकरण गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको जनाइएको छ ।
‘महिला उद्यमशीलता प्रदर्शनी’ नाम दिइएको मेला सुनसरीको इटहरीमा लाग्ने भएको हो । नेपाल युवा उद्यमी मञ्च सुनसरी र उद्योग वाणिज्य संघको आयोजनामा हुने मेलाबारे पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
मेलाकी संयोजक मीना ढकालका अनुसार घरेलु उत्पादनलाई प्राथमिकतामा उद्यमशील महिलाहरुलाई प्रोत्साहन गर्न प्रदर्शनी गर्न लागिएको हो ।
दैनिक उपभोग्य वस्तु, कृषिजन्य तथा जडिबुटी, हस्तकला, सौन्दर्य कलासँग सम्बन्धित स्टलहरु मेलामा रहने जनाइएको छ । मेलामा कोशी प्रदेशका विभिन्न क्षेत्रमा उत्पादित वस्तुका ७५ वटा स्टल रहने जनाइएको छ ।
उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले घरेलु तथा साना उद्योग सञ्चालन गर्ने उद्यमीहरु बढाउन सके रोजगारीका लागि विदेश जाने युवाहरुलाई स्वदेशमै आकर्षण गर्न सकिने विश्वास व्यक्त गरे ।
नेपाल युवा उद्यमी मञ्चका तर्फबाट उत्कृष्ट तीन स्टललाई १५ हजारका दरले पुरस्कृत गरिने जनाइएको छ ।
पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशकी महिला उद्यम समितिकी अध्यक्ष सरु केसी,नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष चन्द्र देवकोटा, जिल्ला होटल तथा पर्यटन ब्यवसायी संघका अध्यक्ष तेजबहादुर पुरी, होटल व्यवसायी संघका कार्यवाहक अध्यक्ष जयप्रसाद उपाध्याय, उद्योग वाणिज्य संघका महासचिव विनोद पौडेल लगायतको उपस्थिति थियो ।
Discussion about this post