संखुवासभाको कारागारभित्र भएको दुई कैदीको हत्या प्रकरणमा प्रहरीले थप दुई जनालाई नियन्त्रणमा लिएको छ । कैदीको हत्या प्रकरणमा मुछिएका कारागारका कम्प्युटर अपरेटर इन्द्रनारायण यादव र कार्यालय सहयोगी ढकलाल कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।
पक्राउ परेका कम्प्युटर अपरेटर यादव र कार्यालय सहयोगी कार्कीलाई पाँच दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ । कैदी कुटपिटमा प्रत्यक्ष संलग्न देखिएका पाँच प्रहरी, चौकीदारसहित सात कैदीलाई कर्तव्य ज्यानमा मुद्दा दर्ता गरेको छ । कैदी हत्या प्रकरणमा प्रत्यक्ष संलग्न देखिएका झन्डै डेढ दर्जन व्यक्ति प्रहरी हिरासतमा छन् ।
कैदी हत्या प्रकरणमा अनुसन्धान भइरहेका प्रहरी, चौकीदार, कैदी र कारागार कर्मचारीसहित १६ देखि १९ जनाविरुद्ध मुद्दा दर्ता गरेर अदातलतमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामा प्रहरी, चौकीदार र कारागार कर्मचारीसहित केही कैदीको संलग्नता देखिएको थियो । कुटपिटबाट गत साउन २४ गते संखुवासभा मादीका विनोद तोलांगी र नुवाकोट ककनीका आकाश बलामीको मृत्यु भएको थियो ।
Discussion about this post