काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिमन्त्री अशोक राईले उच्च शुल्क लिएर विद्यार्थीहरुलाई दुःख दिएको विषयमा कठोरतापूर्वक लाग्न आवश्यक भएको बताएका छन् ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा उनले शिक्षा क्षेत्रको शुल्कको विषयमा कठोर भएर प्रस्तुत हुनुको विकल्प नभएको बताए ।
उनले भने, ‘उच्च शुल्क लिएर विद्यार्थीहरुलाई दुःख दिने कुरामा अहिले एउटा सिस्टममा ल्याएको छ त्यसको लागि कठोरतापूर्वक ऐनलाई कार्यान्वयन गर्न आवश्यक पनि थियो । यसमा उपलब्धिको पाटो एकदम राम्रो छ ।’
यस्तै उनले मानव स्रोतको योजनाको जिम्मेवारी शिक्षा मन्त्रालयमा आएको भन्दै त्यसको लागि विज्ञहरुको राय सुझाव लिएर संसदमा प्रस्तुत गर्ने बताए ।
‘मानव स्रोतको योजनाको जिम्मेवारी हाम्रो मन्त्रालयमा आएको रहेछ । यसमा मन्त्रालयमा विज्ञहरुले ड्राफ्ट बनाएर अन्य आयोग र विश्वविद्यालयमा गएको छ । छलफलको लागि विज्ञहरुको राय सुझाव लिने काम पनि चलिरहेको छ’ उनले भने, ‘छिटोभन्दा छिटो मानव स्रोतलाई योजनावद्ध ढङ्गले विकास गर्ने सम्बन्धी प्रतिवेदन पनि ल्याएर संसदमा प्रस्तुत गर्ने छौ ।’
Discussion about this post