इटहरी । एरिना टेलिभिजन इटहरीको रियालिटी डान्स सो ‘एरिना स्कुल च्याम्स’ १० वर्षपछि पुनः सुरु हुने भएको छ । ‘एरिना स्कुल च्याम्स’को सिजन २ सम्बन्धी घोषणा गर्न आज टेलिभिजन परिसरमा विशेष समारोह आयोजना गरिएको थियो ।
इटहरी विराटनगरलाइनस्थित टेलिभिजन परिसरमा आयोजित समारोहमा निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन)का कोसी प्रदेश अध्यक्ष टीकाराम ढकाललगायत विशिष्ट व्यक्तिहरूले सिल्ड अनावरण गरेका थिए ।
समीर कार्कीको अध्यक्षतामा भएको सो कार्यक्रममा मुख्य आमन्त्रित ढकालले सञ्चारमाध्यमसँग जोडिएर गरिने यस प्रकारका अतिरिक्त क्रियाकलापको सिकाइ प्रभावकारिता र समाजले हेर्ने दृष्टिकोण विशेष हुने गरेको अनुभव सुनाएका थिए ।
कार्यक्रमका वक्ताहरूले एरिना टेलिभिजनको आयोजनामा समुदाय तथा केन्द्र स्तरमा हुनलागेको छनोट एवम् प्रतियोगितात्मक स्वरूपको सो कार्यक्रमले पूर्वका बालबालिकामा नृत्यसम्बन्धी जागरण हुने अपेक्षा गरेका थिए ।
टेलिभिजनका प्रबन्ध सञ्चालक समीर कार्कीका अनुसार ‘एरिना स्कुल च्याम्स सिजन २’ को पहिलो छनोट चरणको अडिसन भदौ २८ गतेदेखि सुरु हुनेछ । सो क्रममा सुनसरी, मोरङ, झापा, उदयपुर र धनकुटा जिल्लाका २० भन्दा बढी विद्यालयमा छनोट प्रतियोगिता सञ्चालन गरी सय जना प्रतिस्पर्धी छनोट गरिनेछ । अडिसन राउन्ड पाँच महिनासम्म चल्नेछ ।
अडिसनबाट सय जना छानिएपछि इटहरीस्थित टेलिभिजन परिसरमा रहेको रियालिटी सो स्टुडियोमा साप्ताहिक छायाङ्कन हुनेछ, जसबाट क्रमशः ८०, ५०, ३० र २० प्रतियोगी छनोट गरिने छन् । त्यसपछि भोटिङ राउन्ड सुरु हुने टेलिभिजन व्यवस्थापनले जनाएको छ ।
सिल्ड अनावरण समारोहमा प्याब्सनका सुनसरी अध्यक्ष नारायण सञ्जेल, विज्ञापन बोर्डका सदस्य पवन अधिकारी, इटहरी–९ का वडाध्यक्ष जीतेन्द्र थापा, सिबी कलेजका प्रिन्सिपल खेमराज बास्तोला, नर्थ प्वाइन्ट बोर्डिङका प्रिन्सिपल राजन दाहाललगायतले सफलताको शुभकामना दिएका थिए ।
एरिना टेलिभिजनले २०७० सालमा एरिना स्कुल च्याम्सको पहिलो संस्करण प्रसारण गरेको थियो, जुन पूर्वक्षेत्रकै पहिलो रियालिटी सो प्रतियोगिता थियो । बीचमा कोरोना, स्थान अभावलगायत कारणले स्थगित रहेको सो प्रतियोगिता हाल टेलिभिजनले आफ्नै भवन र रियालिटी सो स्टुडियो बनाएपछि पुनः सुरु गरिएको प्रबन्ध सञ्चालक कार्कीले बताए ।
Discussion about this post