विराटनगर । कोशी प्रदेशमा शुक्रबारै मन्त्रिपरिषद् विस्तार गरिने भएको छ । ३ जना मन्त्री र १ जना राज्यमन्त्री नियुक्ति गर्दै मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो ।
सर्वोच्च अदालतले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको नेताको हैसियतामा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न बिहीबार परमादेश जारी गरेको थियो ।
सर्वोच्चले मुख्यमन्त्रीबाट उद्धव थापालाई पदमुक्त गर्दै सर्वोच्चले कार्कीलाई मुख्यमन्त्री बन्ने बाटो खुला गरिएको हो ।
प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीको नियुक्ति र शपथको तयारी भइसकेको जनाएको छ ।
कार्कीले दिउँसोसम्म २ जनालाई मात्रै मन्त्री नियुक्ति गर्ने तयारी गरेका थिए । भूगोल र जातजातिका आधारमा मिलाउनुपर्ने दबाब आएपछि मन्त्रीमा १ जना थप गर्दै राज्यमन्त्रीसमेत नियुक्त गर्न लागेको जनाइएको छ ।
कार्कीले तिलकुमार मेन्याङ्बो र एकराज कार्की तथा पाँचकर्ण राईलाई मन्त्री नियुक्त गर्ने बताएको छ ।
मेन्याङ्बो ताप्लेजुङ, कार्की झापा र राई खोटाङका हुन् । कार्कीले मुख्यमन्त्रीको शपथ लिएपछि मेन्याङ्बोलाई खानेपानी, सिँचाई तथा उर्जा, राईलाई पर्यटन, वन तथा वातावरण र कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गरिने भएको हो । मेन्याङ्बो यसअघि कार्की नेतृत्वकै सरकारमा खानेपानी, सिँचाई तथा उर्जा मन्त्री थिए ।
भोजपुरकी समानुपातिक सांसद सिर्जना राईलाई सामाजिक विकास मन्त्री नियुक्त गर्ने तयारी छ ।
Discussion about this post