मकवानपुर । कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार फेर्नुपर्ने संकेत गरेका छन् ।
११०औं बीपी जयन्तीको सन्दर्भमा आइतबार हेटौंडा–११ स्थित नवलपुरमा बीपीको शालिक अनावरण गर्न आइपुगेका कोइरालाले कांग्रेसको नेतृत्वमा सरकार निर्माण हुँदा मात्र देशमा लोकतन्त्र र राष्ट्रियता बलियो हुने दाबी गरे । उनले प्रधानमन्त्री दाहाल अराजक हुँदै गएको आरोपसमेत लगाए ।
‘हामी देशकै ठूलो दल हौं । हाम्रो ९० सिट छ । यो सबै विषयलाई विचार गरेर अगाडि बढ्छौं,’ उनले यसैगरी सरकार सञ्चालन भएको खण्डमा देश अप्ठ्यारो स्थितमा पुग्ने दाबी गरे । उनले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाकै नेतृत्वमा सरकार गठन हुनुपर्ने समेत बताए । ‘हाम्रो पार्टीमा संसदीय दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था रहेको छ,’ उनले भने ।
प्रधानमन्त्रीकै कारण धरान घटना भएको उनको टिप्पणी छ । ‘प्रधानमन्त्रीज्यूले आदिवासी जनजातिको कार्यक्रममा हामीलाई भोट दिनुस् हामी जातीय राज्य दिन्छौं भनेर भन्नुभयो । सुर्खेतमा गएर एक दुई महिनाभित्र डेढ दुई लाख जना मानिस सडक उतार्छौं भन्नुभयो,’ कोइरालाले देशको प्रधानमन्त्रीले सडकमा मानिस उतार्छौं र जातीय राज्य बनाउँछौं भन्दै हिँड्दा धरानमा घटना घट्न पुगेको दोहोर्याए । ‘धरानमा धार्मिक लडाइँ नभएर जातीय द्वन्द्व भयो,’ उनले थपे ।
पार्टीभित्रको आन्तरिक समस्यालाई सामान्य रुपमा बुझ्नसमेत कार्यकर्तालाई कोइरालाले आग्रह गरेका छन् ।
Discussion about this post