इलाम : नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले किरात धर्मावलम्बीको प्रसिद्ध धार्मिकस्थल इलामको माङ्सेबुङलाई धार्मिक क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
पशुपतिनाथको उदाहारण दिदैँ उनले माङ्सेबुङलाई पनि सोहीअनुसार क्षेत्र विकास कोष बनाएर विकास गर्नुपर्ने बताएका हुन् ।
इलामको सन्दकपुर गाउँपालिका–४, माबुको हाङ्मादिनमा जारी राष्ट्रिय विभूति फाल्गुनन्दको १४० औं जन्मजयन्ती समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी कोइरालाले माङ्सेबुङले समग्र इलाम जिल्लाकै विकास हुने बताए ।
आफूसमेत सो कार्यका लागि लाग्ने बताउँदै उनले आ–आफ्नो क्षेत्रबाट सबै लाग्नुपर्ने बताए । सरकारले पनि सो क्षेत्रको विकासमा चासो राख्नुपर्ने उनको भनाइ छ ।
कोइरालाले धार्मिक र आध्यात्मिक क्षेत्रको तपोभूमि नेपाल समस्त मानवजातिको आकर्षणको केन्द्रका रूपमा रहेको भन्दै यसक्रममा फाल्गुनन्दको अवतरणले ज्ञान र चेतनाको प्रकाश विस्तार गरेको बताए ।
हाङ्मादिनमा किरात धर्मगुरु आत्मानन्द लिङ्देनसमेतको उपस्थिति रहेको थियो । फाल्गुनन्द जयन्तीको अवसरमा उनको पूर्ण कदको शालिकसमेत अनावरण गरिएको छ ।
Discussion about this post