काठमाडौं । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा पशुपतिस्थित आर्यघाट पुगेको छ । नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै निकालिएको शवयात्रा केहीबेर अघि आर्यघाट पुगेको हो ।
उनको निजी निवास बालुवाटारबाट सुरु भएको शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुगेको हो । अब केही समयपछि राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गरिने छ ।
आर्यघाटमा स्वर्गीय नेम्वाङप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेता तथा कार्यकर्ता, आफन्त, शुभचिन्तकहरुले अन्तिम श्रद्धाञ्जली दिनेछन् ।
नेम्वाङको सोमबार राति निधन भएको थियो । मंगलबार दिनभर र बुधबार (हिजो) दिउँसो १ बजेसम्म पार्टी कार्यालय, च्यासलमा उनको पार्थिव शरीरलाई राखिएको थियो । हिजै उनको पार्थिव शरीर बालुवाटारस्थित निवासमा लगिएको थियो । सरकारले राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्ने निर्णय गर्दै आज शोक बिदा दिएको छ ।
Discussion about this post