काठमाडौँ । नेपाली कांग्रेसले ७५३ वटै स्थानीय तहमा संविधान दिवस विशेष कार्यक्रम गर्न मातहतका निकायहरूलाई पत्राचार गरेको छ ।
कांग्रेसले २ असोजमा पार्टीका सर्वोच्च नेता एवम् लौहपुरुष गणेशमान सिंहको २६ औँ स्मृति दिवस र ३ असोजमा संविधान दिवन मनाउन मातहतका निकायहरूलाई परिपत्र गरेको हो ।
पार्टीको साउन पहिलो साता बसेको केन्द्रीय कार्यसमितिले पार्टीको एक वर्षे कार्यतालिका पास गरेको थियो । सो कार्यतालिकामा उल्लेख भएबमोजिम कार्यक्रमहरू सम्पन्न गर्न तल्ला तहलाई परिपत्र गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
‘२ असोजमा सर्वोच्च नेता एवम् लौहपुरुष गणेशमान सिंहको २६ औँ स्मृति दिवस र ३ असोजमा संविधान दिवस मनाउने कार्यक्रम छ,’ उनले भने, ‘गणेशमान सिंह स्मृति दिवसमा जिल्लास्तरमा ‘गणेशमान सिंह र समावेशी नेपालको परिकल्पना’ विषयमा गोष्ठी आयोजना गर्न भनिएको छ, संविधान दिवसमा स्थानीय तहस्तरीय पार्टीका कार्यसमितिहरूलाई गतिविधि गर्न भनिएको छ ।’
संविधान दिवसका सन्दर्भमा स्थानीय तहस्तरीय कार्यसमितिले संगीत, कला, साहित्यिकसहितको विविधयायुक्त सांस्कृतिक कार्यक्रम वा शिक्षण संस्थामा प्रजातन्त्र र संविधान विषयमा प्रवचन वा वक्तृत्वकला आयोजना गर्न कांग्रेसले परिपत्र गरेको छ ।
Discussion about this post