काठमाडौँ। सरकारले दशैं, तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने तयारी गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले २/४ दिनभित्रै चाड पर्वलाई लक्षित गरेर सो पसल सञ्चालनमा ल्याउन लागिएको बताएका हुन्। आइतबार प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले मूल्यवृद्धिका मारमा परेका उपभोक्तालाई राहत पनि हुने भएकाले सो पसल खोल्ने निर्णय भइसकेको जानकारीसमेत दिए।
असोज १ गतेदेखि नै सो पसल सञ्चालनमा ल्याउने निर्णय भए पनि आयातसम्बन्धी अन्य विषयका कारण केही ढिलाइ हुन जाने देखिएको पनि सचिव मरासिनीले बताए। उनले खुला बजार भएका कारण आम उपभोक्ताहरुले पनि सचेत भएर वस्तुको खरिदबिक्री गर्नुपर्ने अवस्था रहेको पनि बताए।
Discussion about this post