काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडचडी र पौडी खेल्नु आफ्नो बाल्यकालको सौख रहेको बताएका छन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपतिसँग बालबालिका विषयक शीतल निवासमा आइतबार आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले आफ्नो बाल्यकालको अनुभव सुनाउँदै आफूलाई घोडचडी र पौडीमा खुबै चाख रहेको बताएका हुन्।
‘पौडी र घोडचढीले मलाई अहिलेसम्म स्वस्थ रहन सहयोग पु¥याएको छ’, राष्ट्रपति पौडेलले भने, ‘अहिले त स्वीमिङ पुल छन् त्यसैमा पौडी खेल्छन् । हाम्रा पालामा त सानो पोखरी, आहाल र खोलामा पौडी खेल्न पर्दथ्यो । म पनि खोला र सानो पोखरी देख्यो कि हाम फालिहाल्ने गर्दथेँ ।’ आफूहरूको पालामा बालबालिकाहरू नितान्त प्रकृतिसँग भिजेर हुर्किएको उनको भनाई छ ।
बालबालिकाको जीवन सबैभन्दा निर्धक्कको र चिन्तारहित अर्थात् शोक न सुर्ता भोक न भकारीको रहने गरेको उनको भनाई छ । राष्ट्रपति पौडेलले महाकवि देवकोटाको कविता स्मरण गर्दै आफू फेरि बालक बन्न पाए हुन्थ्यो भने ।
त्यसबेला धानको कुन्यू, बिटा र भकारीमा लुकामारी खेलेको, गाईबस्तु चराउने गरेको, भात पकाई खेल्ने गरेकाले हिलोमैलो र धुलोमा खेल्दै प्राकृतिक तवरले बिताएको उनले स्मरण गरे ।
Discussion about this post