बिर्तामोड । मुलुककै ठूलो चेन मार्केट भाटभटेनी सुपरस्टोरका अध्यक्ष मिनबहादुर गुरुङले ससुराली गाउँ झापामा २६औं स्टोरको उद्घाटन गरेका छन् ।
त्यस क्रममा उनले केही समयअघि ललिता निवास जग्गा प्रकरणमा आफू हिरसतमा बस्नु परेको घटनालाई सम्झिँदै उनले देशमा केही गर्नुपर्छ भनेर लाग्ने व्यक्तिहरुलाई उक्त घटनाले हतोत्साही बनाएको गुनासो गरे ।
राज्य नै लागि परेपछि आफूले अफ्ठ्यारो परिस्थितिको समना गर्नु परेको स्मरण गरे । अप्ठ्यारोका बीच पनि व्यावसायिक यात्रालाई निरन्तरता दिँदै झापामा २६औं स्टोर सञ्चालनमा आउनु खुसीको क्षण भएको उनले बताए ।
बिर्तामोडमा खुलेको भाटभटेनीको स्टोर ससुराली गाउँलाई कोशेलीको रुपमा रहेको बताउँदै उनले यसको सफल सञ्चालनमा सबैको सहयोगको अपेक्षा गरे । उनको ससुराली झापा हो ।
‘सबैले माइती आउँदा केही न केही कोशेली लिएर आउने हाम्रो प्रचलन छ । त्यसैगरी साबित्रीजी (गुरुङकी श्रीमती) ले पनि झापामा भाटभटेनीको नयाँ स्टोर लिएर आउनु भएको छ’–अध्यक्ष गुरुङले भने, ‘आशा छ यहाँ रहनु भएका ससुराली, दाजुभाई, दिदी बहिनी, जेठान, साला, सालीहरुले सहयोग र साथ दिनुहुने छ ।’
मुलुकलाई आर्थिक संकटबाट माथि उठाउनका लागि निजी क्षेत्रले भूमिका खेल्नु पर्नेमा जोड दिँदै उनले धेरैभन्दा धेरै रोजगार सिर्जना तथा पूँजी पलायनलाई रोक्ने उद्देश्यसाथ अघि बढेको उल्लेख गरे ।
बिर्तामोडमा सञ्चालनमा आएको उक्त स्टोर १५ कट्ठा क्षेत्रफलमा करिब २ लाख ५० हजार सपिङ्ग स्पेससहित छ । २ अर्बभन्दा बढी लागानीमा सञ्चालित स्टोर कोशी प्रदेशको चौथो तथा झापा जिल्लाको पहिलो हो । यसअघि कोशी प्रदेशको धरान, विराटनगर तथा इटहरीमा स्टोर सञ्चालनमा आइसकेका छन् ।
स्वदेशी तथा विदेशी ब्राण्डका उच्च गुणस्तरका विभिन्न सामानहरु पाइने स्टोरमा झापा जिल्लासहित आसपसका छिमेकी जिल्ला तथा छिमेकी मुलुक भारतका सीमावर्ती शहरहरुबाट समेत ग्राहकहरु किनमेलका लागि आउने विश्वास लिइएको छ ।
देशमा ब्याप्त आर्थिक मन्दीका कारण व्यापार व्यवसायमा निरासा छाएको बेला भाटभटेनीको सञ्चालनने पूर्वी नेपालको आर्थिक विकासमा थप टेवा पुग्ने क्षेत्रीय व्यवस्थापक बिनोद भट्टराईले बताए ।
भाटभटेनी व्यवसाय मात्र नभएर रोजगारी आभियान समेत रहेको र यो स्टोरमा पनि यस क्षेत्रका करिब ३०० स्थानीय युवाले रोजगर प्राप्त गरेको अध्यक्ष गुरुङले बताए ।
उदघाटनका अवसरमा आम ग्राहकलाई प्रत्येक सामानको खरिदमा १० देखि २० प्रतिशतसम्म छुटको ब्यवस्था रहेको स्टोरका अपरेसन म्यानेजर पानु पौडेलले बताए ।
स्टोरमा ग्रोसरी, किचनवेयर, रेडिमेड गार्मेन्ट, फुटवेयर, इलेक्ट्रोनिक्स, ब्रान्डेड गार्मेन्ट, ब्रान्डेड फूट्वेर, फूड्कोर्ट, मल्टिप्लेक्स सिनेमा हल तथा बालबलिकाका लागि स्केट पार्क लगायतका सुबिधाहरु रहने भाटभटेनीले जनाएको छ ।
झापाको दमकमा आगामी बैशाखसम्ममा २७औं स्टोर सञ्चालनमा आउने भाटभटेनीले जनाएको छ ।
Discussion about this post